२०७७ असार ३० गते १७:५९ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गरेका चन्द्रप्रसाद ढकाल समूहका चारै जनाले व्यवसायीको हक हितका लागि अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् । मंगलबार महासंघको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै चारै जनाले आफूहरुको उम्मेदवारी महासंघको सम्पूर्ण उद्योगी वयवसायीका समस्या सरकार समक्ष राखी समस्याको समाधानतर्फ अगाडि बढ्नका लागि भएकाे बताएका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आफूले सबै वयवसायीका समस्या र चुनौतीहरु बुझेको र व्यवसायीहरुसँग नै खेले हुर्केको हुनाले आफूहरुलाई सबैले विश्वास गर्नेमा विशवस्त भएको बताए ।
‘हाम्रो पनि विगत हेर्नु्होस्, हामी तपाईंको समिपमा रहेर कसरी काम गरेका थियौ, म आज तपाईंहरुलाई फेरी विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं । हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तिमा हाम्रो टीमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टीमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो,’ उनले भने ।
‘हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ,’ ढकालले भने ।
यस्तै, ढकालकै समूहबाट वस्तुगत उपाध्यक्षका लागि उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठले ढकाल नेतृत्वको समूहको कुनै व्यक्तिगत स्वार्थ नभई आफ्नाे समूह संस्थागत विकास र उद्योगी व्यवसायीका समस्याहरुलाई लिएर सरकारसँग लविङ गर्न सक्ने क्षमता भएको बताए ।
‘हामीले उद्योगी व्यवसायीहरुका पिरमर्का बुझेका छौं, हामीलाई महासंघमा आउनको लागि कुनै निजी स्वार्थ छैन, अन्तिममा सबैले भन्ने पैसा नै हो, त्यो हामीलाई पुगिसकेको छ,’ उनले भने । आफूहरुले पैसाका लागि नभई संस्थागत विकासका लागि नेतृत्वमा आउन खोजेको उनको भनाई छ ।
‘पैसाकै कुरा गर्ने हो भने चन्द्र ढकाललाई पुगिसकेको छ, उहाँलाई पैसाको कमि छैन, रामचन्द्र संघईलाई पनि त्यसको आवश्यक छैन, नेपालमै व्यापार स्थापित गर्ने घरानाको मान्छे उहाँ हो, गुणनिधी तिवारीलाई पैसाको समस्या छैन, त्यसाे भए चारै जनालाई अरु के चाहियो र ? हामीलाई केबल चाहिएको संस्थागत विकास र व्यवसायीहरुका समस्या समाधान हो,’ उनले भने ।
आफूहरुलाई कुनै पनि व्यक्तिगत स्वार्थ नभएको उनको भनाई छ । धेरैले ढकाल समूहमा पूर्व अध्यक्ष एक जना मात्र भएको तर्क गरेको सुनेको भन्दै उनले राम्रो मान्छे एक जना पनि प्रशस्त हुने धारणा राखे ।
‘तैँले ३ वर्ष उपाध्यक्ष भएर के गरिस् पनि भन्लान् तर नेतृत्व कमजोर भएपछि हाम्रो केही लाग्ने रहेछन, अब हाम्रो यो टीमलाई जिताउनुस्, हामी अबको ३ वर्षमा हामीबाट हुन सक्ने काम गरेरै देखाउने छौं,’ श्रेष्ठले भने ।
यस्तै, जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएका गुणनीधि तिवारीले आफ्नो समूहले बोलीभन्दा पनि कामबाट देखाउने बताएका छन् । सबै व्यवसायीहरुका समस्या समाधानका लागि यो टीम आवश्यक रहेकोले तीन वर्षमा महासंघमा सिस्टममा काम गर्ने वातावरण सिर्जना गर्ने उनको भनाई छ ।
यस्तै, एसोटियट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले पनि आफूहरुलाई विश्वास दिलाएर काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । ‘विश्वास दिलाउनु्, हामी परिणाम देखाउनेछौं, उनले भने ।
शेखर गोल्छाको आलोचना
महासंघको निर्वाचनका लागि वर्तवान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष शेखर गोल्छा खुलेर लागेको भन्दै आलोचना भएका छ । ढकालको उम्मेदवारी घोषणा कार्यक्रमममा बोल्ने सबैले प्रत्यक्ष अर्थात अप्रत्यक्ष रुपमा गोल्छाको आलोचना गरेका हुन् ।
निर्वाचनका लागि चन्द्र ढकाल र किशोर प्रधान नेतृत्वको समूह दुई धारमा विभाजित भएको छ । स्वतः अध्यक्ष बन्ने व्यक्तिले एक धार पक्रेर अगाडि बढ्न उचित नहुने धेरैको तर्क थियो ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले गोल्छालाई आफूले लगाएको गुण बिर्सिएको समेत बताएका छन् । महासंघमा धेरै प्रतिनिधिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउनु हुँदैन भनिरहेको अवस्थामा गोल्छालाई अध्यक्ष बनाउनकै लागि आफूले धेरै लविङ गरेको उनको धारणा छ ।
उनले भनेका छन्, ‘शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु, हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ? त्यो के का लागि ?’
‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लविङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छु,’ ढकालले भने।
उनी मात्र होइन सभामा बोल्ने सबै वक्ताले गोल्छाको आलोचना गरेका थिए । गोल्छा उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी नभए पनि जुमबाट भने उनी देखिएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.