२०७७ साउन ५ गते १८:२६ विकासन्युज
रामचन्द्र संघई, एशोसियट उपाध्यक्ष उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ
त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र संघई नेपालको कर्पोरेट क्षेत्रको परिचित नाम हो । नेपालबाट सबैभन्दा बढी निर्यात गरेकोमा गत वर्षमात्र नेपाल सरकारले उहाँलाई कमर्सियल इम्पोटेन्ट पर्सन (सीआईपी) अवार्ड समेत प्रदान गरेको थियो । यहि साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा संघईले एसोशिएट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एशोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था रहेको छ । उद्योग, व्यापार र सेवाका क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनीहरु चलाईरहेको र १६ हजार भन्दा बढी मानिसलाई रोजगारी दिएको त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक संघई निर्वाचनमा विजयी भएका श्रमिक र रोजगारदाताबीचको सम्बन्ध राम्रो बनाउने बताउनु हुन्छ । प्रस्तुत छ कोभिड–१९ले व्यवसायमा पारेको असर र आगामी निर्वाचनको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको विकास वहस ।
त्रिवेणी ग्रुप उद्योग, व्यापार र सेवा क्षेत्रमा ठूलो लगानी रहेको व्यावसायिक घराना हो । कोभिड–१९ र लकडाउनले व्यवसायमा कस्तो असर पारेको छ ?
सर्वप्रथम त त्रिवेणी ग्रुपको बारेमा जानकारी राख्नुभएकोमा यहाँलाई धन्यवाद । कोभिड–१९ को संकट हाम्रा लागि मात्र नभएर सम्पूर्ण विश्वकै लागि अप्रत्याशित थियो । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकलाई समेत यस्तो समस्या समाधान गर्न गाह्रो परेको अवस्थामा हामीलाई पनि पक्कै सजिलो त थिएन । नेपालको निर्यात क्षेत्र पुरै ठप्प भयो र अझै समस्यमा छ ।
नेपालले समयमै वाह्य सीमाहरु बन्द गरेका कारण कोभिड संक्रमण पनि भयावह हुने गरी फैलिन नपाएका कारण हामीले अपेक्षा गरेभन्दा कम नै प्रभाव परेको छ । तर पनि साना ठूला सबै उद्योग व्यवसायीलाई समस्या परेको छ । तीन महिनासम्म पूर्ण लकडाउनमा रहनुपर्दा हाम्रा पनि उद्योग व्यवसाय पूरै ठप्प रहे । त्यसको क्षति न्यूनीकरणका लागि हामीले धेरै मेहनत गर्नुपर्नेछ । हाम्रो आन्तरिक बजार त चाँडै नै रिभाइभ होला तर हामी त निकासीमूलक व्यवसायमा पनि भएकाले वाह्य बजार हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले कोभिड–१९ र लकडाउनले हामीलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक सबै प्रकारका असर पारे पनि हामी विस्तारै माथि उठ्ने प्रयासमा छौं ।
अब व्यावसायिक गतिविधि नियमित हुन कति समय लाग्ला ?
सरकारले लकडाउनको मोडालिटी केही परिवर्तन गरेसँगै निश्चय पनि आर्थिक गतिविधि बढ्न थालेको छ । सडकमा सार्वजनिक यातायातसमेत आंशिक सूचारु भइसकेको अवस्स्थामा मानिसहरु काममा फर्किन थालेको अवस्था छ । हामीले पनि प्रशासनिक काम त सुरु गरिसकेका छौं । सेवा क्षेत्रमा पनि केही काम भइरहेका छन् तर, उत्पादन क्षेत्रमा अझै पनि समस्या छन् । आन्तरिक खपतका वस्तु उत्पादन चाँडै रिभाइभ भए पनि निकासीमूलक व्यवसायलाई केही समय लाग्छ । तीन महिना लकडाउनले घरमै बस्नुपरेका नेपालीको उत्साह हेर्दा लाग्छ कि अब चाँडै नै व्यावसायिक गतिविधि पनि नियमित हुनेछ । कोरोना भाइरस र कोभिड–१९ को अन्त्य चाँडै नहुने विश्वव्यापी अध्ययन अनुसन्धानले देखाइसकेकाले अब हामी यसको खोप वा औषधि पर्खेर बस्ने अवस्थामा छैनौं । हामीले सुरक्षात्मक उपायहरु अवलम्बन गरेर काममा फर्कने र दैनिक गतिविधि सूचारु गर्नुको कुनै विकल्प देखिँदैन ।
कोभिड–१९ पछि व्यावसायिक संस्कारमा कस्तो परिवर्तन आउला ?
कोभिड–१९ ले अर्थतन्त्र र मानव स्वास्थ्यमा ठूलो क्षति पु¥याए पनि हामीलाई धेरै कुरा सिकाएको पनि छ । हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने देखाएको छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो व्यवसाय र व्यावसायिक संस्कारमा पनि देखिनेछ । अबको व्यवसाय भौतिकभन्दा पनि बढी डिजिटल हुने देखिन्छ र सूचना प्रविधिको अधिकतम उपयोगका माध्यमले हामी अगाडि बढ्नुपर्ने देखिन्छ । उपभोक्ताको फेरिँदो रुचि र आवश्यकताका आधारमा हामी उत्पादक र सेवा प्रवाह गर्ने व्यवसायीहरु पनि चल्नुपर्छ । हाम्रो व्यावसायिक संस्कार भन्नु नै उपभोक्तामुखी हो र अहिलेको अवस्थामा उपभोक्तालाई डिजिटलका माध्यमले नै सेवा प्रवाह गर्न सकियो भने हाम्रो व्यावसायिक लागत पनि घट्न सक्छ । यसैले मलाई लाग्छ कि अब हामी परम्परागत ढंगभन्दा माथि उठ्नु जरुरी भइसकेको छ ।
अर्को महत्वपूर्ण विषय के हो भने कोभिड–१९ले हामीलाई आत्मनिर्भर बन्नको लागि उत्प्रेरित गरेको छ । आज विश्व पुरै बन्द भएको अवस्थामा हामी आफूलाई चाहिने खाद्यन्य, औषधि, कपडा लगायत अत्यावश्यक बस्तुहरु आफैले उत्पादनु गर्नुपर्छ, कृषिलाई निकै प्राथमिकता दिनुपर्छ भन्ने सन्देश कोभिडले दिएको छ । कोभिड–१९ पछि आएको नेपाल सरकारको बजेट र राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पनि त्यसतर्फ जोड दिएको हामीले पाएका छौं ।
नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । तपाइँको चुनावी एजेण्डका के छन् ?
हो, साउन २६ र २७ गते हुने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचनमा मैले एशोसिएटतर्फ उपाध्यक्षको उम्मेदवारी दिने निर्णय सार्वजनिक गरिसकेको छु । मैले चन्द्र ढकालजी को जुन टिमबाट उम्मेदवारी घोषणा गर्ने बेलामा पनि भनिसकेको छु कि निजी क्षेत्रको सम्वद्र्धन र संरक्षणका लागि सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने नै मेरो योजना हुनेछ । महासंघको सिंगो शरीरमा रक्तसञ्चार गर्ने धमनी भनेकै एशोसिएट समूह भएकाले यसलाई निर्वाध सञ्चालनमा गराउन, त्यसको गति अवरुद्ध हुन नदिन मैले आफ्नो अनुभव, ज्ञान तथा विवेकको पूर्ण उपयोग गर्नेछु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु ।
एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु ।
यतिमात्र नभइ उत्पादनमूलक, सेवामूलक, व्यापार सबै क्षेत्रम म प्रत्यक्ष संलग्न रहेकाले यी क्षेत्रमा रहेका समस्या र सम्भावनाको गहिराइको ज्ञान मलाई राम्रोसँग रहेको छ । सरकारले यसै वर्ष मलाई उत्कृष्ठ निकासीकर्ताका रुपमा कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) अवार्ड प्रदान गरेको यहाँलाई स्मरण गराउँदै सम्पूर्ण निजी क्षेत्रलाई यस्तो सम्मानको लायक बनाउने मेरो ध्येय रहनेछ ।
मतदाताहरुले तपाइँलाई नै किन मतदान गर्ने ? महासंघमा तपाइँको योगदान के छ ?
महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था हो र म त्यसमा प्रत्यक्ष रुपमा विगत डेढ दशकदेखि जोडिएको पनि छु । महासंघमा मैले धेरै नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभव पनि छ र अब त्यो अनुभवका आधारमा मैले नेतृत्व तहमा जान खोजेको हो । विगतमा महासंघमा कार्यकारिणी समिति सदस्य मात्र रहे पनि अब उपाध्यक्षमा रहेर मेरो व्यावसायिक र संस्थागत अनुभव, ज्ञान, सीप र विवेक निजी क्षेत्रको उन्नति र समृद्धिमा लगाउने दृढ इच्छाशक्तिका कारण मैले यो निर्णय लिएको हो । विगतमा मैले व्यवसाय पनि हेर्नुपर्ने कारणले महासंघमा समय दिन सक्दिनँ कि भनेर नेतृत्व तहमा जाने इच्छा देखाइनँ तर अहिले मेरो व्यवासायमा अर्को पुस्ता नेतृत्व सम्हाल्न सक्षम भइसकेकाले म महासंघलाई पर्याप्त समय दिन सक्छु भन्ने लागेर पनि म उपाध्यक्षका लागि तयार भएको हो । मैले विगतमा रोजगारदाता परिषदको सहसभापति रहेर योगदान पु¥याएको छु । म कहिल्यै पनि कुनै समिति माग्न नेतृत्वसँग गइनँ तर दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको छु । यसैले एशोसिएटका विवेकशील अग्रज तथा मित्रहरुले मलाई एकपटक सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने ठानेको छु ।
महासंघमा एशोसिएट सदस्य नै सबैभन्दा धेरै छन् र सबैभन्दा बढी मतदाता पनि एशोसियट हुन् । तर, एशोसिएट उपाध्यक्षको हैसियत महासंघमा कमजोर छ । एशोसिएट उपाध्यक्षको अधिकार र भूमिका वृद्धि गर्न तपाइँको भूमिका कस्तो हुन्छ ?
एशोसिएट उपाध्यक्षको भूमिका कम भएजस्तो त मलाई लाग्दैन । महासंघको विधान र कार्यविधिमा नै एशोसिएटको भूमिका स्पष्ट छ । तीन उपाध्यक्षमध्ये मर्यादाक्रममा तल राखिएको विषयलाई तपाइँले इंगित गर्न खोज्नुभएको हुनसक्छ । तर, आफ्नो भूमिका पदले भन्दा पनि कामले देखाउने हो भन्ने मलाई लाग्दछ । असल श्रम सम्बन्ध निर्माणदेखि लगानीको वातावरण निर्माणसम्म एशोसिएटकै क्षेत्रमा पर्दछ । वस्तुगत र जिल्ला नगरका व्यवसायी साथीहरुको पनि व्यवसायको आकार बढ्ने वित्तिकै उहाँहरु आउने एशोसिएटमै हो । अर्कोतर्फ यसमा प्रत्यक्ष सदस्यता प्रणाली भएकाले भोटिङका लागि कुनै अर्को संगठनबाट निर्वाचित भएर आउनुपर्ने अवस्था पनि छैन । तपाइँले इंगित गर्नुभएको जस्तै प्रतिशतका आधारमा यस क्षेत्रको प्रतिनिधित्व कम भएको भने म स्वीकार गर्छु र यसलाई बढाउने मेरो प्रयत्न रहनेछ । यद्यपि, हामीले सामूहिक निर्णयमा विश्वास राख्नु आवश्यक छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुबीच दुई समूह बनाएर प्रतिस्पर्धा हुने गरेको छ ।
आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाल भर्सेर किशोर प्रधान टीमबीच प्रतिस्पर्धा हुँदैछ । तपाइँले चन्द्र ढकालको टिम किन रोज्नुभयो ?
महासंघमा मैले धेरै पूर्वअध्यक्षसँग नजिक रहेर काम गर्ने अवसर पाएको छु । सबैका आफ्नै विशेषता छन् भने कमजोरीरहित व्यक्ति कोही पनि हुँदैन । विगतदेखि नै महासंघमा मन मिल्ने साथीहरुको टिम बनाएर निर्वाचनमा जाने प्रचलन रहिआएको हो र यस वर्ष पनि त्यसले निरन्तरता पाएको मात्र हो । निर्वाचन नभइ सर्वसम्मति भएको भए अझै राम्रो हुन्थ्यो तर स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्वाचन हुन्छ भने त्यसलाई पनि खराब भन्न मिल्दैन, यो प्रजातान्त्रिक संस्कार पनि हो । निर्वाचनको दिनसम्म हामी दुई समूह भए पनि निर्वाचनको परिणामसँगै हामी सबै एउटै समूह हौं । यसैले हामी अरुको कमजोरी देखाएर नभइ आफ्नो क्षमताका आधारमा निर्वाचनमा जानुपर्छ र गएका छौं । जहाँसम्म चन्द्र ढकालजीको टिममा नै किन तपाइँ जानुभयो भन्ने प्रश्न गर्नुभयो, यो त्यति ठूलो कुरा हो जस्तो पनि मलाई लाग्दैन । ढकालजीलाई हामीले शेखर गोल्छापछिको अध्यक्षका रुपमा सबल र सक्षम नेतृत्व दिनसक्ने व्यक्तिका रुपमा पाएर नै साथ दिएका हौं । उहाँले आफ्नो व्यवसायसँगै सबैखाले व्यवसायीसँग गर्ने समान व्यवहार, नीति निर्माण तहसम्मको पहुँचजस्ता विषयले सम्पूर्ण निजी क्षेत्रलाई नै फाइदा हुन्छ र महासंघको गरिमा माथि जान्छ भन्ने लागेर नै हामी सामूहिक रुपमा अगाडि बढ्न खोजेका हौं । मैले अघि पनि भनेँ कि मन मिल्ने साथीहरु एउटै टिममा हुनु स्वाभाविक हो र ढकालजी एशोसिएट समूहबाटै सदस्य र उपाध्यक्ष भइसक्नु भएकाले उहाँको अनुभवले मलाई पनि राम्रो हुन्छ र सहयोग पुग्ने भएकाले र म पनि सोही समूहको भएकाले एउटै समूहमा भएका हौं ।
एशोसिएटबाट तपाइँले कति मत पाउने अनुमान छ र यस क्षेत्रबाट चन्द्र ढकालले कति मत पाउने सम्भावना देख्नुहुन्छ ?
कति मत पाउँछु भनेर मोटामोटी आकलन गरिसके पनि म अहिल्यै यसलाई सार्वजनिक गर्नु त्यति उपयुक्त ठान्दिनँ । एशोसिएटका सबै मतदाता विवेकशील हुनुहुन्छ र आफ्नो व्यवसायमा पनि उत्तिकै सवल र सक्षम भएकाले नेतृत्व चयनमा पनि यसैगरी विवेक पु¥याउनु हुन्छ भन्नेमात्र मलाई विश्वास छ । निश्चय पनि निर्वाचनमा जित्नकै लागि भाग लिइने हो र म त्यसमा भने विश्वास राख्दछु ।
अहिलेसम्म कति प्रोक्सी संकलन भए ?
मलाई लाग्छ, यो प्रोक्सी भन्ने शब्द चयन धेरै भइरे पनि यो नितान्त गलत छ । व्यवसायी अग्रज तथा मित्रहरुको व्यस्तताका कारण उहाँहरु आफैं आउन सक्नुहुन्न भने उहाँहरुले प्रतिनिधि पठाउनु हुन्छ । यसैले उहाँहरुलाई प्रोक्सी नभइ प्रतिनिधि भनौं र यो हामीले संकलन गर्नेभन्दा पनि उहाँहरुले नै विधान र कार्यविधिअनुसार पठाउने हो । पठाइरहनु भएको पनि छ । यसका लागि समय सीमा पनि छ र केही दिनमै यसको आधिकारिक तथ्यांक थाहा हुनेछ ।
कोभिड–१९ का कारण व्यवसायीहरु आर्थिक संकटमा छन् । तपाइँहरुलाई चुनाव लागेको छ । यस्तो बेलामा भोट माग्दा व्यवसायीहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् ?
महासंघले निर्वाचनको मिति सार्वजनिक गरेको बेलासम्म त निर्वाचन होला र ? भन्ने जुन आशंका गरिँदै थियो अहिले पूरै माहौल बनिसकेको छ । कोरोना संक्रमितको तथ्यांक पनि क्रमशः घट्दो स्थितिमा भएकाले अहिले निर्वाचन हुने अवस्था नै देखिन्छ । हामीले सामूहिक र व्यक्तिगत भेटघाटलाई विस्तारै अगाडि बढाइरहेका छौं । सबैले सकारात्मक प्रतिक्रियाहरु दिइरहनु भएकाले उत्साहित छौं । खासगरी कोरोना प्रभावित अर्थतन्त्रलाई गति दिन सरकारको बजेटले त्यति उत्साहित नरहेको निजी क्षेत्रका साथीहरु मौद्रिक नीतिबाट उत्साहित रहनुभएको पनि मैले पाएको छु । अर्थतन्त्रलाई अब लयमा फर्काउनुपर्छ र यसका लागि तपाइँ पनि निजी क्षेत्रको नेतृत्वमा आउनुपर्छ भनेर पनि मलाई उहाँहरुले भनिरहनुभएको छ । यसैले म निकै उत्साहित पनि छु ।
तपाइँले महासंघमा धेरै वर्ष बिताउनु भयो । कतिपय मानिसहरुले भन्छन् कि महासंघ विगतको तुलनामा कमजोर हुँदै गयो । यसको कारण के हो ?
महासंघप्रति धेरैको अपेक्षा छ र विश्वास पनि । देशव्यापी उपस्थिति रहेको र सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको निजी क्षेत्रको छाता संगठन भएकाले महासंघले निजी क्षेत्रको अभिभावकत्व लिनुपर्छ भन्नेमा कसैको दुईमत छैन । महासंघमा विगतमा केही आन्तरिक समस्याका कारण कुनै विषय ठिक ढंगले सम्बोधन हुन सकेनन् होला तर यतिले मात्र महासंघ कमजोर नै भइहालेको भन्न मिल्दैन । आजको दिनमा महासंघको कुनै विकल्प छैन । उद्योग परिसंघ, चेम्बर, घरेलु लगायत सबै वस्तुगत संस्थासँग सहकार्य गरेर महासंघले नेतृत्व गरेर निजी क्षेत्रको एउटै आवाज महासंघले नै सरकारसमक्ष पु¥याउनु पर्नेछ । विगतका कमजोरीले हामीलाई शिक्षा दिएको छ र त्यो सच्याउँदै अगाडि बढ्न सकिन्छ । निर्वाचनले दुई पक्ष जन्माउँछ र झन कमजोर हुन्छ भन्ने चिन्ता पनि देखिन्छ । यो चिन्ता स्वाभाविक भए पनि हामी कुनै कार्यकारिणी संस्थामा नभइ स्वयमसेवी संस्थामा जान लागेको रुपमा सबैले बुझ्न सक्यौं भने विवादको जड बाँकी रहँदैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.