नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा

  २०७७ साउन ७ गते १७:५२     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । साउन २६ र २७ गते ललितपुरको एक रिसोर्टमा हुन लागेको चुनावलाई लिएर विभिन्न गतिविधि हुन थालेका छन् ।

चुनावको मिति नजिकिदै गर्दा चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई पक्ष एक अर्कालाई कमजोर देखाएर चुनावी दाउपेचमा लागेका छन् । महासंघ निर्वाचनको केन्द्रमा रहेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा (जो साउन २६ र २७ गतेको साधारणसभाबाट स्वतः अध्यक्ष बन्दैछन्) देखिएका छन् ।

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानलाई गोल्छाले खुलेरै सहयोग गरेका छन् । यसैकारण ढकाल समुहले गोल्छाप्रति विभिन्न प्रश्न उठाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । लकडाउनकै कारण चैत २८ र २९ गतेका लागि तोकिएको महासंघको निर्वाचन रोकिएको थियो ।

यस्तैमा सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै लगेको छ । लकडाउन खुकुलो बन्दै गएपछि महासंघ नेतृत्वले साउन २६ र २७ गतेका लागि निर्वाचन तोकेको छ ।

सरकारले साउन ६ गतेदेखि लकडाउन पूर्णरुपमा हटाएको छ । लकडाउन हटाएपनि सार्वजनिक सवारी साधन, विद्यालय तथा विश्वविद्यालयको अध्ययन अध्यापन, सिनेमा घर तथा सबै प्रकार भेला तथा सम्मेलन खुल्ला गरिएको छैन ।

जनस्वास्थ्यविदहरुले लकडाउन हटेपनि कोरोना संक्रमण नहटेको भन्दै सजग रहन सचेत गराउँदै आएका छन् । यही सन्दर्भमा वरिष्ठ उपाध्यक्ष गोल्छाले हिजो (साउन ६ गते) सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै तोकिएकै समयमा महासंघको निर्वाचनको गर्न चुनौतिपूर्ण रहेको बताएका थिए ।

गोल्छाको यही जानकारीलाई अर्काे पक्षले ‘चुनाव सार्ने प्रपन्च’का रुपमा व्याख्या गरेको थियो । आफ्नो अभिव्यक्तिलाई गतल अर्थ लगाइएको भन्दै गोल्छाले आज (साउन ७ गते) अर्काे ट्वीट गर्दै आफ्नो नैतिक प्रश्नलाई गलत रंग दिएको र त्यसले आफूलाई दुःख लागेको बताएका छन् ।

‘पदभार ग्रहण गर्ने इच्छाभन्दा बढी सदस्य साथीहरु प्रतिको सुरक्षा दायित्वले घच्घच्याइ रहेछ । लकडाउन खुल्दै गर्दा देशैभरिका १००० व्यवसायीलाई एकै स्थानमा जम्मा गर्दा कतै सुरक्षा जोखिम होला कि भन्ने नैतिक प्रश्नले पिरोलेको छ मलाई तर यसलाई अर्कै रंग दिन खोजिएको देख्दा दुःख लाग्छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् ।

सम्बन्धित सामग्री

शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप

अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा

एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो

महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?