२०७७ साउन ११ गते १५:०९ विकासन्युज
काठमाडौं । गत आर्थिक वर्षमा नेपालको अन्तराष्ट्रिय व्यापार करिब १५ प्रतिशतले घटेको छ । केही वर्षयता आयात घट्दै गएको तथा गत आर्थिक वर्षमा कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी रुपमै समस्या आएको कारण नेपालको अन्तराष्ट्रिय व्यापार घटेको हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा नेपालको कुल अन्तराष्ट्रिय व्यापार १४.६९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा गत आर्थिक वर्षमा १२ खर्ब ९२ अर्ब ९५ लाख रुपैयाँ बराबरको मात्रै व्यापार भएको हो ।
केही वर्षयता नेपालको आयात कम हुदै गएको र गत आर्थिक वर्षमा कोभिड–१९ का कारण निर्यात व्यापार पनि प्रभावित भएर कुल बैदेशिक व्यापार नै कम भएको विभागका सुचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । व्यापार नै घटेका कारण भन्सार राजस्व पनि कम उठेको उनको भनाइ छ ।
‘गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६९ प्रतिशतले घटेको छ, व्यापार घटेपछि भन्सार राजस्व पनि कम भएको छ,’ सुचना अधिकारी घिमिरेले भने ।
उनका अनुसार गत आर्थिक वर्षमा भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै उठेको छ । अर्थमन्त्रालयले गत आर्थिक वर्षमा ४ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ ।
गत आर्थिक वर्षमा कुल आयात व्यापार १५.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ लाख रुपैयाँ बराबरको आयात भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको छ ।
गत आर्थिक वर्षमा निर्यात व्यापार ०.९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ९७ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात भएकोमा गत आर्थिक वर्षमा ९६ अर्ब १५ करोड रुपैयाँ बराबरको मात्रै भएको छ ।
निर्यातको तुलनामा आयात बढी घटेका कारण नेपालको व्यापार घाटा पनि कम भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापार घाटा १६.७१ प्रतिशतले कम भएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा भएकोमा गत आर्थिक वर्षमा ११ खर्ब ६४ करोड रुपैयाँ मात्रै भएको छ ।
नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा निर्यातको अंश ६.४१ प्रतिशत र आयातको हिस्सा ९३.५९ प्रतिशत थियो । गत आर्थिक वर्षमा आयातको हिस्सा ९२.५६ प्रतिशत र निर्यातको हिस्सा ७.४४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यातको अंश १६.०७ प्रतिशत बढेको र आयातको हिस्सा १.१ प्रतिशतले घटेको विभागको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.