२०७७ साउन २० गते १६:३१ विकासन्युज
काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीले अपूर्ण र अस्पष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । चार महिना ढिलागरी प्रकाशित गरेको वित्तीय विवरण मुन्सीले बुझ्न सक्ने, सर्वसाधारणले बुझ्न नसक्ने खाल्को छ । मुन्सीले पनि पत्रिकासँगै क्यालकुलेटर लिएर हिसाव गरेपछि मात्र वास्तविकता जानकारी पाउने छ ।
बैशाख महिनाभित्र प्रकाशित गर्नु पर्ने तेस्रो त्रैमासको वित्तीय विवरण साउनसम्म पनि प्रकाशित नगरेको विषयमा विकासन्युजमा सामाचार प्रकाशित भएपछि पुनर्बीमा कम्पनीले मंगलबार वित्तीय विवरण प्रकाशित गरेको छ ।
पुनर्बीमा कम्पनीले निर्जीवन बीमातर्फबाट ८२ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । जीवन बीमा तर्फबाट ९ करोड १० लाख रुपैयाँ नाफा गरेको छ ।
कुल नाफा कति हो भनेर वित्तीय विवरणमा प्रकाशित गरिएको छैन । त्यसको लागि मुन्सीले झै क्यालकुलेटर दवाएर हिसाव निकाल्नुपर्ने हुन्छ ।
नाफाको विवरण मात्र होइन, आम्दानी, खर्च, जगेडा तथा कोष, बीमा कोष लगायत सबै शीर्षकको हिसाव अस्पष्ट र अपूर्ण रहेको छ ।
यस विषयमा विकासन्युजले बीमा समितिका उच्च अधिकारीसँग जिज्ञासा राख्दा सर्वसाधारणले सेयर लगानी गरेको कम्पनीको वित्तीय विवरण पूर्ण र प्रष्ट हुनुपर्ने बताए । ‘पुनर्बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणको फर्म्याट परिमार्जन हुनुपर्ने देखियो । यसमा हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने ।
१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको पुनर्बीमा कम्पनीमा सवा सवा तीन अर्ब रुपैयाँ संचित कोष छ । बीमा कोषसहित १२ अर्ब ६७ करोड रुपैयाँ पुँजी परिचालन गरेको कम्पनीले चैत महिनासम्ममा जम्मा ९१ करोड रूपैयाँ नाफा गरेको छ ।
सम्बन्धित समाचार
Copyright © 2025 Bikash Media Pvt. Ltd.