उद्योगीलाई राहत मिल्यो, विवादित विद्युत महसुल मिटरका आधारमा लिन अख्तियारको निर्देशन

  २०७७ भदौ ४ गते १०:४९     विकासन्युज

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीओडी मिटर (जडान गरिएको मिटर) का आधारमा महसुल लिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

अख्तियारले मिटरअनुसार महसुल लिन विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । उद्योगहरुले आफूलाई प्राधिकरणले बढी महसुल तिराउन खोजेको भन्दै उजुरी दिएपछि अख्तियारले सो निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ,‘विद्युत लोडसेडिङ अन्त्य भएको आधिकारिक घोषणा हुनुअघिको समयसम्म डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत आपूर्ति लिएका उद्योगहरुको विद्युत उपयोगको परिमाण यकिन गरी सोको आधारमा निर्धारित महशुल असुलउपर गर्न उपयुक्त हुने । यसका लागि अन्य विषयबाहेक टीओडी मिटरको डाटा डाउनलोडका अध्ययन प्रतिवेदनहरु तथा सोको विश्लेषणलाई मुख्य आधार बनाउन सकिने छ।’

संसदको सार्वजनिक लेखा समितिले गरेको अध्ययनअनुसार डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत लिएको महसुल ९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।