२०७७ भदौ ५ गते ११:३३ सन्तोष रोकाया
काठमाडौं । घटना जेठ दोस्रो साताको हो । समय देशव्यापी लकडाउनकाे थियाे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सूचना प्रणालीको ११३७ नम्बरमा फोन आयो ।
फोन विभागका एक कर्मचारीले उठाए । फोन गर्ने व्यक्ति एकजना व्यापारी थिए । उनी कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न प्रयोग गरिने स्वास्थ्य सुरक्षाका सामग्री बिक्री गर्दथे ।
उनको गुनासो थियो, ‘एक जना मोबाइल व्यापारीले गैरकानुनी रुपमा फेसबुकमा पेज बनाएर थर्मल गन, पीपीई, स्यानिटाइजर मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको विज्ञापन तथा बिक्री गरिरहेका छन्’ भन्ने ।
उनले फेसबुक पेजको नाम पनि बताए । त्यो पेजको नाम थियो ‘भर्जिन मोबाइल ।’
सामाजिक सञ्जाल फेसबुकमा भर्जिन मोबाल नाम राखेर अनलाइन विज्ञापन गरिरहेकोको सो फेसबुक पेज कसको हो ? कसले चलाइरहेको हो भन्ने खोजीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लाग्यो ।
अनुसन्धान गर्दै जाँदा फेसबुकमा ‘भर्जिन मोबाइल’ नाम गरेको फेसबुक पेज भेटियो । र, त्योसँगै सो पेजका सञ्चालक र उनको सम्पर्क नम्बर पनि भेटाउन विभाग सफल भयो ।
विभागले पनि त्यो फेसबुक पेजमा स्वास्थ्य साम्रगी विज्ञापनका लागि राखेको भेटायो । खोज्दै जाँदा भर्जिन मोबाइल नाम गरेको व्यवसाय दर्ता गरेको काठमाडौं जिल्लामा कतै भेटिएन ।
विभागले सो पेजका सञ्चालको सम्पर्क नम्बर पनि पाइसकेपछि उनलाई फोन लगायो । त्यो नम्बर कहिले नउठ्ने, कहिले व्यस्त भन्ने लगायतका झमेला विभागले झेल्नु पर्यो ।
अन्ततः ती व्यक्ति विभागको सम्पर्कमा आए । उनी थिए काठमाडौंको ताम्राकार हाउसमा मोबाइल व्यापार गर्दै आएका एकजना शर्मा थरका । विभागले खोजी गर्दै जाँदा उनले ललितपुरमा आफ्नो मोबाइल व्यापारका लागि दर्ता गरेका रहेछन् । तर, व्यापार भने काठमाडौंमा । विभागले उनको एउटा त्रुटी त्यहाँ नेर देख्यो । व्यवसाय दर्ता ललितपुरमा, व्यापार काठमाडौंमा ।
अर्को त्रुटी थियो, उनले कुनै अनुमति तथा व्यवसाय दर्ता नै नगरी अनलाइनमा स्वास्थ्य समग्रीको व्यापार गरिरहेका थिए । जसको उनीसँग न कुनै बिल बिजक थियो नत कुनै व्यापार गर्न अनुमति लिएको प्रमाणपत्र नै ।
विभागका कर्मचारीले उनीबाट व्यवसाय गरेको बिल बिजक र व्यवसाय दर्ताको प्रमाण पत्र मागे । ती मान्छेले ती कर्मचारीलाई अहिले भ्याउँदिन, भोलि/पर्सि ल्याउँछु भने र त्यहाँबाट घर लागे ।
ती व्यक्ति न भोलि आए, न पर्सि नै । विभाग उनको प्रतिक्षामा थियो । एक हप्तासम्म नआएपछि विभागका एक कर्मचारीले विभागमै खटिएका प्रहरी जवानलाई ती व्यक्तिलाई फोन लगाउन भने ।
ती प्रहरी जवानले ती व्यक्तिलाई फोन गरे । ती व्यक्ति त्यतिखेर वाणिज्य विभाग आउनुको साटो महानगरीय प्रहरी परिसर काठमाडौं गएको विभागका अधिकारीहरुको आरोप छ ।
त्यसको एक हप्तापछि उनले धेरै बिल बिजक ल्याएर विभागमा बुझाएको विभागका अधिकारीहरु बताउँछन् । ती सबै बिल–बिजकहरु नियाल्दा कुनै पनि बिल थर्मल गन, पीपीई, मास्क र स्यानिटाइजर खरिद बिक्री गरिएको बारे नभएको उनीहरुको भनाई छ ।
ती व्यक्ति कमिसन र गलत मनसायका लागि विज्ञापन गरेको बुझिएको विभागको ठहर छ । अहिले पनि विभाग उनले दिएको बिल–बिजक अध्ययन गरिरहेको छ ।
विभागमा खटिएका सुरक्षाकर्मी नै फिर्ता
शर्मा थरका ती व्यक्तिको केस विभागमा आइसकेपछि प्रहरीले विभागमा खटिएका चार जना सुरक्षाकर्मीलाई पनि फिर्ता लगिसकेको छ । विभाग स्रोतका अनुसार ती व्यक्ति (अनलाइन व्यापार गर्ने) ले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली आफ्नो साथी भएको भन्दै कसैले केही गर्न नसक्ने धम्की दिएको विभागका कर्मचारीहरु बताउँछन् । ज्ञवाली उनका दाजु ठाकुर ज्ञवाली नेपाल प्रहरीको महानिरीक्षक भएको बेलामा परिसर प्रमुख भएका थिए ।
त्यसलगत्तै परिसरले कोरोना भाइरसको कारण जनशक्ति अभाव भएको भन्दै विभागमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता लिने जानकारी गराउँदै विभागलाई चिठी पठाएको थियो ।
मौखिक रुपमा कुरा गरेर परिसरले २ दिन अगाडि प्रहरी फिर्ता लिएको थियो । त्यसको दुई दिन पछाडि अर्थात जेठ २५ गते विभागलाई पत्र लेखेर प्रहरी फिर्ता लिएको जानकारी परिसरले गरेको थियो ।
विभागबाट सुरक्षाकर्मी फिर्ता भएको भोलिपल्ट शर्मा थरका ती व्यक्ति पुनः विभाग आए । उनले विभाग आएर चुनौतिका साथ धम्की दिएर गएको विभागका कर्मचारीहरु बताउँछन् ।
‘प्रहरी फिर्ता गएको भोलिपल्टै ती व्यक्ति विभाग आए, हामीलाई धम्काउँदै देखिस् मेरो पावर भन्दै टेबुलमा हात बजारे, सिसाको टेबुल भएको भए टुट्थ्यो, काठको भएर केही भएन, एग्रेसिभ भएर बोलिरहेका थिए, त्यसाे गर्ने व्यक्तिलाई हामीले थुन्नु पर्थ्यो, हामीसँग सुरक्षाकर्मी पनि थिएन, हामीले सकेनौं,’ विभागका एक उच्च अधिकारीले भने ।
अनुगमनमा प्रहरीले साथ नदिएको गुनासो
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा प्रहरीले साथ नदिएको बताएको छ । अनलाइन ठगहरुले विभिन्न आइडिया लगाएर गैरकानुनी काम गर्ने गरेको पाइएको हुँदा त्यसमा प्रहरीको आवश्यकता हुने विभागका प्रवक्ता रविन्द्र आचार्य बताउँछन् । तर त्यसमा प्रहरीले साथ नदिएको उनको गुनासो छ ।
‘धेरै जोखिम र चुनौतीपूर्ण केसहरु हामीले हेर्नुपर्ने हुन्छ, त्यसको अध्ययन अनुसन्धानका लागि हामीलाई प्रहरीको आवश्यकता एकदमै महत्वपूर्ण हुन्छ, उल्टै ठगहरुले शक्तिको आडमा हामीलाई चुनौति तथा धम्की दिने गरेका छन्, यसमा प्रहरीको साथ छैन,’ उनले भने ।
‘ठगहरुले नै हामीलाई फोन गरेर सरुवा गरिदिन्छु भनेर पावरको अभ्यास गर्छन्, पछिल्लो समय त्यस्ता धन्दा गर्नेहरुलाई पक्राउ गर्न पनि समस्या भइरहेको छ, विभागमा भएका प्रहरी नै फिर्ता लिइयो, तर अझै पनि हामी सक्रिय भएर लागेका छौं,’ उनले थपे ।
एसएसपी ज्ञवाली भन्छन्ः प्रहरीलाई गलत प्रयोग गरियो, अनि फिर्ता गरें
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भने वाणिज्य विभागले लगाएको आरोप स्वीकार्दैनन् । उनले विभागमा सुरक्षाकर्मीको गलत प्रयोग भएकोले फिर्ता लिएको बताएका छन् ।
तर, उनले विभागलाई पठाएको चिठ्ठीमा कोरोना भाइरसको कारण जनशक्तिको अभाव भएकोले सुरक्षाकर्मी फिर्ता लिएको उल्लेख गरेका छन् ।
‘हामी जिल्ला प्रशासनले माग गरेको बेला पनि गइरहेका छौं, वाणिज्य विभागले भनेको समयमा पनि गइरहेका छौं तर सुरक्षाकर्मीको गलत प्रयोग हुन भएन,’ उनले विकासन्युजसँग भने ।
‘हाम्रो काम भनेको सुरक्षा दिने हो, अनुगमनमा जाने हो, व्यापारीहरुलाई फोन लगाउने होइन, विभागले सुरक्षाकर्मीलाई फोन एक्सटेन्सन र आफ्नो अन्य ड्युटीको लागि प्रयोग गरेपछि फिर्ता बोलाएको हुँ,’ उनले थपे ।
ती अनलाइन व्यापारीको कनेक्सन एसएसपी ज्ञवालीसँग भएको विभाग स्रोतको आरोप छ । उनलाई पक्राउ गर्न खोज्दा र त्यसका लागि प्रहरीको साथ चाहिएको बेलामा त्यहाँ भएका प्रहरीलाई नै ज्ञवालीले फिर्ता लिएको आरोप विभागको छ ।
अनलाइन ठगहरुको तपाईसँग कनेक्सन छ भन्ने आरोप छ नि भन्ने विकासन्युजको प्रश्नमा ज्ञवालीले भने, ‘त्यसलाई समीक्षा गर्ने क्षमता तपाईको विषय भयो । तर, प्रहरीले व्यापारीलाई फोन लगाउने होइन, हाम्रो काम सुरक्षा दिने हो, सुरक्षाबाहेक अन्य काममा प्रहरीलाई प्रयोग गर्न उहाँहरुलाई कुन कानुनले अधिकार दिएको छ ?,’ उनले प्रश्न गरे ।
‘प्रहरी हामी सबैको हो, प्रहरी बिगार्नु भनेको हामी सबै बिग्रनु हो । प्रहरीलाई बिगार्नु भएन, त्यो उहाँको गल्ती थियो,’ उनले भने ।
प्रहरीले अनुगमनमा साथ नदिनु भन्नु उहाँहरुको शतप्रतिशत गलत भएको ज्ञवालीको भनाई छ । तर, व्यापारीलाई सरकारी टेलिफोनबाट नै बोलाउनु पर्ने भएकोले विभागका कर्मचारीको भनेको नमानेपछि प्रहरीले फोन गर्ने गरेको विभाग बताउँछ ।
प्रकरण गृह मन्त्रालयसम्म पुग्यो
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं प्रहरीको दूरी बढेपछि विभागले सुरक्षा तथा अनुगनमा प्रहरीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
विभागले बजार अनुगमनका लागि प्रहरी फोर्सको आवश्यकता परेकोले पठाउनको लागि उद्योग मन्त्रालय मार्फत गृह मन्त्रालय समक्ष पत्र पठाएको आचार्यले बताए ।
‘केन्द्रिय बजार अनुगमन समितिबाट निर्णय भएर प्रहरी फोर्सका लागि मन्त्रालय मार्फत गृह मन्त्रालयमा पत्र पठाएका छौं, फेरि एक दुई दिनमै बसेर कुरा पनि गर्छौं,’ आचार्यले भने ।
घटनाको बारेमा अर्थात प्रहरी फिर्ता लिएको बारेमा विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि जानकारी गराइसकेको उनले बताए ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले पनि घटनाको बारेमा विभागका महानिर्देशन नेत्र सुवेदीसँग कुराकानी भइसकेको बताए ।
उनले पत्र आएको नआएको जानकारी नभएको बताए पनि पत्र आएको हो भने हेडक्वाटरसँग समन्वय गरेर सुरक्षाकर्मी पठाउन सकिने जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.