अब मेडिसिटी अस्पतालमा पनि पिसिआर टेष्ट हुने, नाम दर्ता गर्न याे नम्बरमा सम्पर्क गर्न सकिने

  २०७७ भदौ ८ गते १४:१३     विकासन्युज


काठमाडौं । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा शुरु भएको छ । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुस गर्दै मेडिसिटीमा उक्त सेवा शुरु गरिएको हो ।

विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालल बताए । विगत केहि महिना देखिको प्रयास पश्चात सफल रुपमा जडित पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको छ ।

पिसिआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१-४२१७७६६ मा सम्पर्क गर्न सकिन्छ ।
स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताए । उनले ओपिडी मार्फत आउने र भर्ना भएका बिरामीका लागी पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गरेका छन् ।

साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।