२०७७ भदौ १० गते १७:४४ विकासन्युज
काठमाडौैं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा आफ्नो सम्धीलाई नियुक्त गर्न आफूले कुनै प्रकारको भूमिका नखेलेको दाबी गरेका छन् । मन्त्री पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई बैंक संचालक समिति अध्यक्षमा नियुक्त गरिएपनि पोखरेलको आलोचना भएको छ ।
उनले आफ्नो परिवारको कुनै सदस्य वा नजिकको नाता सम्बन्धमा रहेका व्यक्तिहरुले पद वा आफूसितको सम्बन्धको दुरुपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेकोमा कुनै सत्यता नभएको बताएका हुन् ।
आफ्नो चौतर्फी आलोचना भएपछि मन्त्री पोखरेलले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु,’ पोखरेलले लेखेका छन् ।
उनले विगतमा पनि आफू विरुद्ध कुप्रचार भएको उल्लेख गरेका छन् ।
‘ विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् १ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
यस्तो लेखे पोखरेलले
सबै महानुभावहरूमा अनुरोध !
——————————
केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु ।
मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुस्खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् १ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु – तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन -किमार्थ टुट्न दिने छैन !!
– ईश्वर पोखरेल
१० भदौ २०७७
Copyright © 2025 Bikash Media Pvt. Ltd.