२०७७ भदौ ११ गते ८:३० विकासन्युज
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा प्राडा उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको व्यापक आलोचना भएको छ ।
प्राडा कोइराला रक्षामन्त्री पोखरेलका सम्धी भएका कारण उनको आलोचना भएको हो । कोइरालालाई राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध सामाजिक संजालमा विभिन्न प्रकार ट्रोल समेत बनेका छन् । केही व्यक्तिले बैंकको विज्ञापनमा ‘सम्धी घरकर्जा योजना’ नामक ट्रोलसमेत बनाएका छन् ।
कोइरालाले त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा लामो सयम अध्यापन गराएपछि प्राध्यापक उपाधी पाएका हुन् । अर्थात त्रिभुवन विश्वविद्यालयमा सेवा प्रदान गरेवापत सरकारी कोषबाट लामो समयसम्म तलब भत्ता लिएका व्यक्ति हुन् । अर्काे शब्दमा भन्ने हो भने उनी पूर्व कर्मचारी पनि हुन् । यद्यपि, प्राध्यापकहरुलाई पूर्वकर्मचारीको रुपमा मात्रै हेर्ने अभ्यास अन्तराष्ट्रियस्तरमै छैन ।
प्राडा कोइराला नियुक्तिको विषयमा व्यापक आलोचना भएपनि सरकारी नियुक्ति पाउने अधिकांश स्थानमा पूर्व विशिष्ट कर्मचारीले नै अवसर पाउने गरेका छन् । आर्थिक क्षेत्रको मात्रै कुरा गर्ने हो भने यसरी अवसर पाउने कोइराला एक्ला पात्र भने होइनन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा नै नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकास पाएका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशक भएकै बेलामा तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिया शासनकालमा डा. खतिवडा राष्ट्रिय योजना आयोगको सदस्य पनि भएका थिए ।
राष्ट्र बैंकबाट अवकाश पाएपछि डा. खतिवडाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदको जिम्मेवारी पाए । त्यसपछि उनी नेपाल राष्ट्र बैंकको गभर्नर भए । गभर्नरबाट अवकाश पाएपछि पुन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका डा. खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालको अर्थमन्त्री मात्रै बनाएनन्, राष्ट्रियसभामा सांसद मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस पनि गरे । राष्ट्रियसभा सदस्यको रुपमा पहिलो कार्यकाल पूरा भएपनि डा. खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा पनि नवित्दै पुनः अर्थमन्त्री बनाए । डा. खतिवडा करिब दुई तिहाई बहुमत प्राप्त दलकोतर्फबाट विना सांसद अर्थ तथा सुचना मन्त्रालयको जिम्मेवारी संहालिरहेका छन् ।
देशको योजना तर्जुमा गर्ने जिम्मेवारी पाएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल कोइराला जस्तै त्रिभुवन विश्वविद्यालयमा लामो समय काम गरेका व्यक्ति हुन् । प्राडा कँडेलले देश विकासको योजना बनाउने जिम्मेवारी पाएका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी पाएका महाप्रसाद अधिकारी पनि नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । राष्ट्र बैंकको डेपुटी गभर्नरको कार्यकाल पूरा गरेपछि अनिवार्य अवकाश पाएका अधिकारी देशमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी आकर्षित गर्न समन्वय गर्ने र आवश्यक सहयोग तथा नीति निर्माण गर्न सिफारिस गर्ने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए । बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छोडेर उनी अहिले राष्ट्र बैंकको गभर्नर पदको जिम्मेवारीमा छन् ।
अर्काे नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पनि पूर्वकर्मचारी नै हुन् । उनले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अनिवार्य अवकाश पाएका थिए ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईं पनि नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका पूर्वकर्मचारी हुन् । उनी राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश भएका थिए ।
नेपालको एकमात्र पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा शंकरकुमार रायामाझी छन् । उनी राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश पाएका व्यक्ति हुन् । राष्ट्रिय वाणिज्य बैंकमा सरकारको करिब शतप्रतिशत सेयर सेयर स्वामित्व छ ।
यस्तै, १८ लाख ३७ हजारभन्दा बढी सेयर लगानीकर्ताको सम्पत्ति र कारोबारको विवरण राखिरहेको सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूर्णप्रसाद आचार्यले पाएका छन् । उनी कृषि विकास बैंकबाट अवकाश पाएका व्यक्ति हुन् । कृषि विकास बैंकमा पनि सरकारी लगानी छ ।
यस्तै, सरकारले राजस्व सम्बन्धी विवाद समाधान गर्न राजस्व बोर्ड गठन गरेको छ । बोर्डमा अध्यक्षको जिम्मेवारी महेश दाहाललाई दिइएको छ । दाहाल नेपाल सरकारका पूर्व सचिव हुन् । यस्तै, बोर्डको सदस्यको जिम्मेवारी पाएका निर्मलहरि अधिकारी पनि पूर्व सहसचिव हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.