२०७७ भदौ १३ गते २०:५३ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने कि नदिने भन्ने विषयमा केही दिन पर्खन आग्रह गरेका छन् ।
संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संसदबिना नै मन्त्री बनेका खतिवडाको कार्यकाल भदौ २० गते ६ महिना पुग्दैछ । संविधानले संघीय संसदको सदस्य नभएका व्यक्ति ६ महिनामा मात्रै मन्त्री बन्न पाउने व्यवस्था भएको सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो ।
प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमलासँग ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । अब अर्थमन्त्रीलाई नै निरन्तरता दिनु हुन्छ कि अर्काे व्यक्तिलाई अर्थमन्त्रीको रुपमा भित्र्याउनु हुन्छ भन्ने प्रश्नमा ओलीले यस्तो बताएका हुन् ।
‘भदौ २० गते आउन अब केही दिन मात्रै बाँकी छ, २÷४ दिन पख्नुस् न, केही दिनभित्रमै थाहा पाइहाल्नु हुन्छ नि,’ प्रधानमन्त्री ओलीले भने ।
यद्यपि उनले मन्त्रिपरिषद पुनरगठन वा हेरफेर गर्ने काम प्रधानमन्त्रीको विषय भएको बताए । प्रधानमन्त्रीले लिएको ५ वर्षे योजना र लक्ष्य प्राप्त गर्न भइरहेका मन्त्रीबाट काम गराउँदा सहज हुन्छ कि नयाँ व्यक्तिलाई जिम्मेवारी दिनु उपयुक्त हुन्छ भन्ने विषयमा आफूले गम्भीर अध्ययन गरिरहेको उनको भनाइ छ ।
‘युवराज खतिवडालाई नै निरन्तरता दिदा राम्रो हुन्छ कि, नयाँ व्यक्तिलाई जिम्मेवारी दिदा राम्रो हुन्छ कि भन्ने कुराको समीक्षा हुन्छ, युवराज खतिवडाले भन्दा अर्काे व्यक्तिले राम्रो काम गर्छ भन्ने लाग्यो भने अर्काे व्यक्तिलाई जिम्मेवारी दिन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले अर्थमन्त्री खतिवडाको कामबाट आफू सन्तुष्ट रहेको पनि बताए । मन्त्रिपरिषद पुनरगठनका विषयमा भने आफूले सोचिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.