ग्रील तथा स्टील उद्याेगबाट १ लाख ६० हजार श्रमिक बेरोजगार-महासंघ

  २०७७ भदौ १५ गते ९:५९     विकासन्युज

काठमाडौं । महामारीको कारण ठूलो क्षति व्यहोरिरहेका उद्योगीहरुलाई केही समय धैर्या गर्न ग्रिल तथा स्टील व्यवसायी महासंघले आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ का कारण गरिएको लकडाउनका कारण क्षति व्यहोरिरहेका उद्योगी तथा व्यवसायीहरुलाई धैर्य रहन आग्रह गरेको हो ।

विज्ञप्तीमा महासंघले यस्तो समयमा उद्योग संचालन गर्दा कर्मचारीलाई कार्यस्थलमा राखी दोस्रो व्यक्तिलाई असर नपर्ने गरी सम्पूर्ण सुरक्षा विधि अप्नाउन पनि आग्रह गरेको छ ।

‘सरकारले कोभिड-१९ का कारण संकटमा परेका उधोगी व्यवसायीहरुको लागी घोषणा गरिएका सुबिधाहरु पुर्नकर्जा ,सहुलियत पुर्ण कर्जा, कर्जाको पुर्नतालिकीकरण लगायतका सुविधाहरु सरोकारवाला निकायमा सम्पर्क गरि सुबिधा लिनुहुन आग्रह गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ ।

महामारीको कारण देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उद्याेगगमा संलग्न १ लाख ६० हजार श्रमिकहरुको रोजगारी गुमेको महासंघले जनाएको छ ।

यस्तै महासंघले भविष्यमा आईपर्ने सम्भावित दुर्घटनाबाट बच्न राष्ट्रिय बिमा संस्थानमा गर्दै आईरहेको ग्रील व्यवसायी र श्रमिकहरुको ७ लाखको दुर्घटना बिमा कार्यक्रममा पनि चाँडो संलग्न हुने आग्रह गरेको छ ।

महासंघले विज्ञप्ती मार्फत छिटो भन्दा छिटो जोखिम कम भएका स्थानमा सुरक्षित किसिमले उद्याेग सञ्चालन गर्ने वातावरण मिलाउन र लकडाउनबाट प्रभावित उद्याेगी व्यवसायीहरुलाई सरकारबाट सहज किसिमले राहत दिलाउने कार्यकम लागिरहने जनाएको छ ।