शैक्षिक संस्थाले अनलाइनबाटै परीक्षा लिन पाउने, शैक्षिक सत्र खेर नजाने

  २०७७ भदौ १५ गते १३:०९     डाेमी शेर्पा

काठमाडौं । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षण संस्थाहरुले अनलाइनबाटै विद्यार्थीको परीक्षा लिन पाउने बारे सकारात्कम छलफल गरेकाे छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकोले अब शिक्षण संस्थाहरुले विद्यार्थीहरुको परीक्षा अनलाइनबाटै लिन सक्ने गरी निर्णय गर्ने किसिमले छलफल भएकाे बताएका हुन् ।

‘अनलाइन कक्षाको बारेमा मन्त्रिपरिषद्मा व्यापक छलफल भयो, छलफल सकारात्मक भयो, सबै मन्त्रीज्यूहरुले कोरोनाको कारणले विद्यार्थीको परीक्षा तथा पठनपाठन नभएको प्रति चिन्तापनि प्रकट गर्नुभयो, सबैले अनलाइबाटै परीक्षा लिनेमा सकारात्मक हुनुभयो,’ उनले विकासन्युजसँग भने ।

यद्यपी मुख्यसचिवले प्रमाणित भने नगरेको उनको भनाई छ । उनले अनलाइन कक्षालाई मान्यता दिने र विद्यार्थीहरुको शैक्षिक सत्र पनि खेर नजाने किसिमले काम हुने बताए ।

चैत ११ गतेदेखि भएको लकडाउन र त्यसपछि विभिन्न जिल्लाहरुमा भइरहेको निषेधाज्ञाले विद्यार्थीको पठनपाठन निकै प्रभावित गरेको छ ।

विद्यार्थीहरुमा एक वर्ष ग्याप हुने होकि भन्ने चिन्ता पसिन त्यतिकै छ । हिजोको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म शिक्षण संस्था बन्द नै राख्ने निर्णय पनि गरेको छ ।