अनलाइन कक्षामा विद्यार्थीलाई २५ प्रतिशत शुल्क घटाउँछौं- रोहित पौडेल

  २०७७ भदौ २९ गते १४:३०     विकासन्युज

रोहित पौडेल, भाइस-प्रिन्सिपल- गोल्डेन गेट इन्टरनेशलन कलेज

कोरोना महामारी र लकडाउनकोबीचमा नै निजी क्षेत्रका स्कूल कलेजले भर्चुअल कक्षा सञ्चालनको लागि प्रयास थाले । तर अनलाईन कक्षलाई मान्यता नदिने, अनलाइन कक्षा पढाएर शुल्क लिन नपाउने सरकारको प्रतिगामी निर्णयले केही महिना भर्चुअल कक्षाहरु पनि दुविधामा, अन्यौलमा रहे । शैक्षिक क्यालेन्डर पुरै अस्तव्यस्त भएपछि सरकारले अनलाइन कक्षालाई मान्यता दिएको छ । शुल्क लिन, परीक्षा लिन सक्ने बताएको छ । कोरोना महामारी, सरकारको ढुलमुले नीति, अनिश्चिता र सरकारी शिक्षण संस्थाहरु पूर्ण बन्द भैराख्दा पनि निजी क्षेत्रका स्कूल कलेजको केही न केही शैक्षिक गतिविधि चलाईरहेका छन् । यसभित्रका चुनौति के के छन् ? कलेज तहमा अनलाइन कक्षाको प्रभावकारीता कस्तो छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत भई गोल्डेनगेट कलेजका भाइस प्रिन्सिपल रोहित बहादुर पौडेलसँग गरिएको विकास वहस ।


यस वर्षको शैक्षिक क्यालेण्डर कति प्रभावित भएका छन् ?

कलेज तहमा कतै आंशिक रुपमा प्रभावित भएका छन् भने कतै पूर्णरुपमा प्रभावित भएका छन् । विश्वविद्यालयहरुमा तीन किसिमका शैक्षिक क्यालेण्डर छन्, वार्षिक, सेमेस्टर र ट्राइमेस्टर । कुनै सेमेस्टर वा ट्राइमेस्टरको परीक्षा हुन नसके पनि हामीले अर्को सेमेस्टरको पढाई शुरु गरेका छौं । त्यस्तोमा आंशिक प्रभाव परेको छ । कुनैको परीक्षा हुन नसक्दा अर्को कक्षा सञ्चालन गर्न सकिएको छैन, उनीहरुको शैक्षिक क्यालेण्डर पूर्ण रुपमा प्रभावित भएको छ । खासगरी वार्षिक परीक्षा हुने विद्यार्थीहरु बढी प्रभावित भएका छन् ।

प्लस टु, व्याचलर डिग्री वा मास्टर डिग्रीमा पढिरहेका विद्यार्थी मध्ये कसलाई कति प्रभाव परेको छ ?

प्लसटू कक्षाको साउन १७ गतेबाट शुरु गर्ने सरकारी क्यालेण्डर हो । हामीले साउन १० बाट शुरु गथ्र्यौ । हामी भदौको अन्तिम सातामा आइसक्यौ । सरकारले भखर्रै मात्र अनलाईन कक्षालाई मान्यता दिएको छ । हामीलाई विश्वास छ, प्लस टूको पढाईमा परिपूर्ति गर्न सकिन्छ । डिप्लोमा कोर्षमा वार्षिक र अर्धबार्षिक दुबै क्यालेण्डर छन् । वार्षिक परीक्षा सञ्चालन मंसिर पछाडि गर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । वार्षिक परीक्षा हुने विषयहरु अहिले धेरै नै प्रभावित भएका छन् ।

सेमेस्टर (अर्धवार्षिक) परीक्षा हुने विषयहरुमा लकडाउन हुने वखत कुनै परीक्षा हुने अवस्था थियो, कसैको भइसकेको थियो, कसैको अलिपछि हुने वाला थियो । परीक्षा सकिएका सेमेस्टरका विद्यार्थीले नयाँ सेमेस्टरमा पढ्न पाएका छन् । परीक्षा हुन नसकेको विद्यार्थीहरुलाई पनि चलिरहेको सेमेस्टर सिध्याएर नयाँ सेमेस्टरमा पढाई चलाएका छौं । अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीहरुलाई अगाडि बढ्न कठिन भएको छ । मास्टर लेवलको सबै विषय सेमेस्टर सिस्टममा चलेका छन् । उनीहरुको पढाई पनि व्याचलरका सेमेस्टरका विद्यार्थीको जस्तै तरिकाले अगाडि बढेको छ । अहिले सबै तहका कक्षाहरु अनलाईनबाट नै चलिरहेका छन् ।

क्याम्पस तहमा अनलाईन कक्षा सञ्चालनको चुनौति के के छन् ?

गोल्डेन गेट कलेज वा निजी क्षेत्रले चलाएको सुविधा सम्पन्न कुनै एक स्कूल तथा कलेजलाई हेरेर यो प्रश्नको जवाफ खोजिनुहुन्न । समग्रमा सबै नेपाली विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा छैन । इन्टरनेट सेवा भएकाको घरमा कप्यूटर, ल्यापटप वा स्मार्ट फोन नहुनसक्छ । एउटाको घरमा ४ जनाको परिवार होलान्, दुई जनासँग मोवाइल होला वा एउटा ल्यापटप होला । चारै जनालाई त पुगेन । यतिबेला विद्यार्थी मात्र होइन, उसको अभिभावकले समेत अनलाइनबाट काम गर्नु परेको होला । सबै जनालाई घर वा डेरामा बसेर पढ्न वा काम गर्न उचित वातावरण नहोला ।

गोल्डेनगेट कलेजका सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा छ कि छैन ?

मास्टरलेवल र डिप्लोमा लेवलका १०० प्रतिशत विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा छ । तर प्लस टूका विद्यार्थीमा केही समस्या छ । यस कलेजमा ७२ जिल्लाका विद्यार्थी पढ्छन् । ग्रामिण क्षेत्रका विद्यार्थीहरु पनि छन् । उनीहरु मध्ये केहीले इन्टरनेट सेवा नभएर समस्या भोग्नु परेको छ । यस्तो समस्या १० देखि १५ प्रतिशत विद्यार्थीमा छ ।

अनलाइन कक्षमा विद्यार्थीको सहभागिता र पठनपाठनको प्रभावकारीता कस्तो छ ?

हामीले सञ्चालन गरेको अनलाईन कक्षा यूरोप वा अमेरिकामा जस्तो पूर्वतयारीका साथ सञ्चालन भएको होइन । यो आकस्मिक सुरुवात हो । त्यसैले हामीले पहिला अभिभावकसँग छलफल गर्यौ, त्यसपछि विद्यार्थीसँग छलफल गर्यौ । उहाँहरुलाई अनलाईन कक्षा पढ्न पढाउन उत्प्रेरित गर्यौं । अभिभावकसँग मैले ५ पटकसम्म मिटिङ गरे । बेलायत, यूरोप, अमेरिका, अष्ट्रेलियामा भईरहेको अनलाईन कक्षाको बारेमा जानकारी दिए । ती देशमा कोभिडका कारण कलेज स्तरको पढाई नरोकिएको जानकारी गराए । हामीले मात्र हाम्रा विद्यार्थीलाई कोभिड भनेर नपढाउने हो भने हाम्रा विद्यार्थी पछाडि पर्ने विषयमा सबैको ध्यानाकर्षण गराए । अहिले अनलाईन कक्षमा डिप्लोमा लेवलका विद्यार्थी ९० प्रतिशत सहभागिता छ भने मास्टर डिग्री लेवलमा लगभग १०० प्रतिशत विद्यार्थीको सहभागिता छ । उनीहरुको पढाई पनि राम्रो छ । प्लस टूमा भने केही समस्या छ ।

मैले पोखरा विश्वविद्यालयको एमबीए र त्रिभुवन विश्द्याविद्यालयको एमबीएसका विद्यार्थीहरुलाई पढाउँछु । ३५ जनाको कक्षामा २९÷३० जनाको सहभागित सधैं नै हुन्छ । कक्षा कोठामा विद्यार्थी सहभागि भएर पढाइ हुँदा पनि विद्यार्थीको सहभागिता यस्तै नै हुन्थ्यो । डिप्लोमा तहमा विएचएम पढाउँछु, त्यसमा पनि विद्यार्थीको सहभागिता १०० प्रतिशत हुन्छ । तर विविएसमा विद्यार्थीको सहभागिता कम छ । कुन विषय हो, कुन भूगोलका विद्यार्थी पढ्छन् त्यसले पनि विद्यार्थीको सहभागिता निर्धारण गर्छ ।

कलेजमा हार्ड साइन्सदेखि सोसियल साइन्ससम्मका सबै विषय पढाउनु पर्ने हुन्छ । कुन विषय पढाउन र बुझाउन सहज छ, कुनमा कठिनाई छ ?

गोल्डेनगेट कलेजले पहिलादेखि नै विश्वविद्यालयमा जाने सोचका साथ शैक्षिक अभ्यासहरु गर्दै आएको छ । हामीले अनलाईन क्लासको लागि पनि त्यहि अनुसार तयारी गर्दै आएका थियौं । व्यवस्थापन वा मानविकी संकायका विषयहरुमा पढाइ, बुझाइ राम्रो छ । लेखा र तथ्याङ्कशास्त्रको पढाईमा शुरुमा केही कठिनाई भयो । तर हामीले प्रिजेन्टेशन तयार गरेर, स्क्रीन सेयरिङ गरेर त्यसलाई सजिलो बनाउँदै गएका छौं । विज्ञानमा सैद्धान्तिक पढाई राम्रो छ । तर प्राक्टिलक गर्न ल्याव नै चहिने भएकोले कठिनाई भएको छ । त्यसको लागि पनि हामीले निश्चित मापदण्ड, कार्यविधि बनाएर प्रोयोगशाला कक्षा सञ्चालन गर्दैछौं ।

भर्चुअल कक्षा सञ्चालन गर्दा कुन एप वा प्लेटफर्म प्रयोग गर्नुभएको छ ?

जुम । यसमा धेरै फिचर छन् र प्रभावकारी पनि देखिएको छ ।

अनलाइनबाट परीक्षा सञ्चालन कसरी गर्नुहुन्छ ?

यो मूल्याङ्कनको पाटो भयो । पढाईसँगै मूल्याङ्कन पनि नियमति हुनैपर्छ । हामीले ओपन बुक एक्जाम पनि गर्यौ । हामीले एमसीक्यू टाइपका क्वइसनबाट पनि परीक्षा लिएका छौं । कुनै विषयमा ओपन बुक एक्जाममा साथै केस स्टडी गराएका छौं । सबैभन्दा बढी जोड ओपन बुक एक्जामलाई दिएका छौं ।

विद्यार्थीलाई कसरी होमवर्क गराउनुहुन्छ ? होमवर्क जाँच कसरी गर्नुभएको छ ?

हामीले एउटा मोड्यूल सफ्टवेयर प्रयोग गरेका छौं । त्यसमा विद्यार्थीलाई होमअर्क दिने, लिने, जाँच गर्ने सबै काम गरेका छौं ।

होमवर्क अभ्यास टाइप गरेर हुन्छ कि कापीमा लेखेर फोटो खिचि पठाउने ?

हाम्रो टाइप स्पीड कमजोर छ । मेरो पनि टाइप फास्ट छैन । साथीहरुको समस्या पनि त्यस्तै छ । म नढाँटी भन्छु हामी टिचरहरु पनि धेरै डिजिटल फ्रेण्ड्ली छैनौ । लकडाउनपछि म आफैले टाइप गरेर सबै काम गर्न प्रयास गरेको हुँ । तर एकैचोटी इम्प्रुभ भएन । विद्यार्थी, शिक्षक सबैले कापीमा लेख्ने हो, त्यसलाई फोटो खिचेर इमेल गर्ने हो । हामीले मोड्यूलबाट पठाउँछौं, चेक जाँच पनि त्यहि हुन्छ ।

तपाईहरु भर्चुअल क्लास चलाउने तर कलम र कापी छोड्न नसक्ने हो, लेखेर, फोटो खिचेर, स्क्यान गरेर इमेल गर्नु भनेको ज्यादै अव्यवहारिक प्रणाली भएन ?

व्यवहारिक भएन । अहिले मुखले बोलेर ल्यापटपमा टाइप हुने सिस्टम पनि छ । हामीले त्यस्तो अभ्यास पनि गरिरहेका छौं । तर समस्या धेरै हुँदोरहेछ । म मेरै घरको उदाहरण दिन्छु । दुईटा छोरी पढ्छन् । मिसेस पनि स्कूल पढाउँछिन्, उनलाई स्कूलको तयारी गर्नुपर्यो । मैले कलेजको तयारी गर्नुपर्यो । एक त हामीलाई प्रयाप्त ग्याजेट भएन । दोस्रो हामीलाई अभ्यास गर्ने समय पनि भएन । लकडाउन पछि हामी एकाएक अनलाईन क्लास भनेर दौडियौं । म एक जना मात्र अनलाईन फ्रेण्डली भएर पनि हुँदोरहेन छ । सबै जना अनलाईन फ्रेण्डली हुनुपर्यो । गोल्डेन गेटले त छिटै तयारी गर्यो । हामीले छिटै अनलाइन कक्षाको लागि पूर्वाधार तयार गर्यौ । तर यो लेवलको कलेज कम छन् नि ।

तपाईको कलेजको नाम नै गोल्डेन गेट छ । तपाईहरु आफ्नो कलेज राम्रो छ पनि भन्दै हुनुहुन्छ । तपाईको कलेजबाट डिप्लोमा वा मास्टर डिग्री हासिल गरेका विद्यार्थीले जुन ठाउँमा जागिर खान जान्छ, त्यहाँ त कलम र कापी प्रयोग नै हुँदैन । सबै काम कम्प्यूटरबाट वा इलेक्ट्रिक डिभाइसको माध्यमबाट हुन्छ । लकडाउन पूर्व चेकमा सहि गर्न कलम प्रयोग हुन्थ्यो भने अहिले त्यो पनि हुन छोडिसक्यो । तपाईहरुले शिकाइ औजारमा कलम र कापी सट्टा इलेक्ट्रिक डिभाई किन प्रयोग नगर्ने ?

अरु कलेजको तुलनामा हामी इन्जिनियरिङ र आइटीमा धेरै अगाडि छौं । हामीसँग १५/२० जना इन्जियिर हुनुहुन्छ । हाम्रो आईटी डिपार्टमेन्ट नै थियो । आफ्नै मोड्यूलहरु विकास गरेका छौं । विद्यार्थीले एप्लिकेशन समिटदेखि फि पेमेन्टसम्मका सबै काम अनलाइनबाटै गर्न सक्ने व्यवस्था गरेका छौं । पढाई पनि डिजिटल्ली शुरु भइसक्यो ।
फेरि म तपाईलाई मेरो अनुभव सुनाउँछु । अमेरिकाबाट फर्किएका एक इन्जिनियरलाई मैले एमबीए पढाएको थिएँ । फाइनान्सियल एनालाइसिस् र रिपोटिङ मैले पढाउने विषय हो । उनलाई कापीमा लेख्न आउँदो रहेनछ । तर हामीकहाँ लेख्नैपर्छ ।

आजको दिनमा कलेज सकेर कुनै ठूलो अफिसमा जागिर खान गयो भने लेख्न नआउनेले जागिर पाउँछ तर टाइप गर्न नआउनेले जागिर पाउँदैन । यो परिवेशलाई बुझेर तपाईहरु किन विद्यार्थीलाई अपग्रेड गर्नुहुन्न ?

म प्रि स्कूलदेखि मास्टर लेवलका इएमबीए सम्मका विद्यार्थीलाई पढाउँछु र व्यवस्थापनको काम पनि गर्छु । म प्रि–प्राइमरी स्कूलमा पढ्ने विद्यार्थीको कुरा गर्छु जहाँ विद्यार्थीले स्कूल देखेको छैन, टिचरलाई भेटेको छैन, अनलाइनबाट डिजिटली पढिरहेको छ । मैले हार्डवर्ड यूनिभर्सिटीको अध्ययन गरेर हुँबहुँ त्यो स्कूलमा लागू गरेको छु । मैले त्यो गरे भन्दैमा सारा नेपालीले त्यहि गर्नुपर्छ वा सबै स्कूलमा त्यहि हुनुपर्छ भन्ने छैन ।

हामीले अपग्रेड गरेका छौं । यसमा हामी अब्बल छौं । म तपाईलाई हाम्रो कलेज भिजिटको लागि निम्ता गर्छु । म प्रि स्कूलदेखि मास्टर लेवलका इएमबीए सम्मका विद्यार्थीलाई पढाउँछु र व्यवस्थापनको काम पनि गर्छु । म प्रि–प्राइमरी स्कूलमा पढ्ने विद्यार्थीको कुरा गर्छु जहाँ विद्यार्थीले स्कूल देखेको छैन, टिचरलाई भेटेको छैन, अनलाइनबाट डिजिटली पढिरहेको छ । मैले हार्डवर्ड यूनिभर्सिटीको अध्ययन गरेर हुँबहुँ त्यो स्कूलमा लागू गरेको छु । मैले त्यो गरे भन्दैमा सारा नेपालीले त्यहि गर्नुपर्छ वा सबै स्कूलमा त्यहि हुनुपर्छ भन्ने छैन । नेपालका कति प्रतिशत विद्यार्थीले यस्तो शिक्षा लिन सक्छन् ? म पनि गाउँको सरकारी स्कूल पढेर आएको विद्यार्थी हुँ । मैले पढेको स्कूल र मैले स्थापना गरेको स्कूलमा धेरै परिवर्तन आएको छ । सबै क्षेत्रमा एकै पटक धेरै परिवर्तन हुन सक्दैन ।

भर्चुअल शिक्षाको लागत पक्कै पनि कम होला । गोल्डेन गेट कलेजले विद्यार्थीको शुल्क घटायो ?

म व्यवस्थापनको विद्यार्थी भएकाले पनि निजी क्षेत्रका संस्थाको आर्थिक भारलाई राम्ररी बुझेको छु । हरेक संस्थाको निश्चित लागत छ । कलेजहरुले बैंकको ऋण तिर्नुपर्छ । कर्मचारीको तलवमा ठूलो खर्च आउँछ । भाडा खर्च आउँछ । विजुली खर्च आउँछ ।

अनलाइन कक्षामा दुई प्रकारले खर्च कटाउन सकिन्छ । एक, भाडामा ठूलो बचत गर्न सकिन्छ, यदि भएको भौतिक संरचनालाई छोड्न तयार हुने हो भने । दोस्रो, पहिला भन्दा कम कर्मचारीबाट काम गर्न सकिन्छ । तर कति कर्मचारी कटौति गर्ने, त्यसले समाजमा कस्तो असर गर्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । भौतिक संरचना यथावत राख्ने हो भने अनलाइन क्लास चलाउँदा २० देखि २५ प्रतिशत शुल्क घटाउन सकिन्छ ।

विद्यार्थी भर्ना संख्या घटेको छ कि बढेको छ ?

हामीले भुकम्प, नाकाबन्दी, कोभिड जस्ता ठूला संकट भोग्यौ । त्यसमा सबैभन्दा बढी कठिनाई कोभिड नै हो । केही स्कूल कलेजले अब विद्यार्थी नपाउन पनि सक्छन् । उनीहरुलाई चल्न गाह्रो हुनसक्छ । केही स्कूल कलेजले अथाहा विद्यार्थी पाउने सम्भावना पनि छ ।

तपाईहरु अथाहा विद्यार्थी पाउनेमा पार्नुहुन्छ ?

हाम्रो कलेजमा ६२ जिल्लाका विद्यार्थी छन् । काठमाडौं र वाहिरका विद्यार्थी आधाआधा छन् । राजधानीको विद्यार्थी बढ्न सक्छन् । तर राजधानी बाहिरबाट आउने विद्यार्थी घट्न सक्छन् । विद्यार्थी घट्यो भने पनि त्यो थोरै संख्यामा घट्नेछ । हामीसँग विद्यार्थी बढ्ने सम्भावना छ । तर हामीसँग अथाहा विद्यार्थी लिने क्षमता छैन ।

फि कति घटाउनु हुन्छ त ?

२५ प्रतिशत शुल्क घटाउँछौं नै । तर हामी शिक्षक, कर्मचारीलाई बेरोजगार बनाउने पक्षमा छैनौं ।

घरमा स्वअध्ययन गरेर विद्यार्थीले परीक्षा मात्र दिन पाउँछन् ?

त्यो त नेपाल सरकारले मापदण्ड नै बनाएको छ । सरकारी मापदण्डभित्र रहेर स्वअध्ययन गर्नेले परीक्षा दिन पाउँछन् । कोभिड महामारीको बेलामा छ झन् स्वअध्ययन गर्नेलाई परीक्षाको मौका दिनैपर्छ, हामी दिन्छौं ।

One comment on "अनलाइन कक्षामा विद्यार्थीलाई २५ प्रतिशत शुल्क घटाउँछौं- रोहित पौडेल"

  • Dhruba Dhungana says:

    सहि र तथ्यपुरक बिश्लेशण, खुसि लाग्यो रोहित सर, अनि समय सपेक्छी मुल्यांकन र फी कटौती अर्को राहात पनि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.