एसिड आक्रमणमा परी घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने

  २०७७ भदौ ३० गते १९:४४     विकासन्युज

काठमाडाैं । सरकारले एसिड आक्रमणमा परी घाइते भएकाहरुको जीवनभरीको उपचारको जिम्मा लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणमा परी घाइतेहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने निर्णय गरेको हो ।

यस्तै सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकास, शिक्षा र रोजगारीका लागि पनि सरकारले व्यवस्था गर्ने भएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सीप विकासको अवशर मिलाउँदै योग्यता अनुसारको रोजगारी पनि उपलब्ध गराउने निर्णय भएको बताए । यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ ।

एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ । यस्तै भदौ २५ गतेलाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्ने र सरकारका निर्णयहरुको कार्यन्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा प्रत्येक मन्त्रालयका सचिहरु सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मुख्य सचिवले तोकेको एक जना सहसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।