२०७७ असोज ३० गते ८:५३ विकासन्युज
काठमाडौं । नेपाल प्रहरीले ५ हजारभन्दा बढी जवान थप गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज गोरखापत्र सुचना प्रकाशित गरी ५ हजार २ सय २७ जवान थप गर्न लागेको जानकारी दिएको छ ।
सुचना अनुसार खुल्लातर्फ २८ सय १७ र अरु समावेशीतर्फको कोटा छ । समावेशी कोटातर्फ आदिवासी जनजातिको लागि ७ सय ३७ र महिनातर्फ ४ सय ४१ जना भर्ना गर्न लागिएको छ ।
नेपाल प्रहरीको जवान पदमा आवेदन दिने म्याद कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म तोकिएको छ । आवेदन दिनको लागि ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट पनि व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आवेदन फारामको लागि १ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
आवेदन दिने योग्यतामा कम्तिमा ८ कक्षा वा सो सरह अध्ययन गरेको हुनुपर्ने पुरुषको हकमा उचाइ ५ फिट २ इन्च हुनै पर्ने र तौल ५० केजी हुनुपर्ने तोकिएको छ ।
यस्तै, महिलाको लागि शैक्षिक योग्यता कम्तिमा ८ कक्षा वा सो सरह अध्ययन पूरा गरेको, उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भएको र २३ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.