नेपाली उत्पादन प्रवर्द्धन गर्ने याेजनासहित डोकोमार्ट खुल्दै

  २०७७ कार्तिक १२ गते १७:१६     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपाल भित्रिएको लगभग १० महिना भइसकेको छ । यति धेरै लामो समयसम्म पनि कोरोनाको संक्रमणदर भने कम हुन सकेको छैन । दिनप्रतिदिन विश्वमा कोरोनाका बिरामी बढ्दै गएका छन् । नेपालमा पनि कोरोनाका नयाँ बिरामी बढ्दै गएका छन् ।

यसको प्रत्यक्ष असर समग्र मानिसको जीवनशैली र देशको अर्थतन्त्रमा परिरहेको छ । कोरोना महामारीको समय र खस्किदै गएको अर्थतन्त्रलाई मध्येनजर गर्दै अब डोकोमार्ट कम्पनी लिमिटेडले डोकोमार्ट डटकम डट एनपी नामक ईकमर्श साइट खोल्ने भएको छ ।

नेपाली उत्पादनहरुको सबैभन्दा ठूलो ईकमर्श प्लाटफर्म बन्ने उद्धेश्यका साथ कम्पनीले तिहारको समयमा सो साइटको लञ्च गर्ने जनाएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले डोकोमार्ट ईकमर्श साइटको लञ्च गर्न लागिएको कम्पनीका प्रमोटर सुवास मल्लले बताए ।

हाल नेपालमा ईकमर्शहरुले मल्टिनेश्नल सामानहरुलाई बढी प्राथमिकता दिइरहेको अवस्थामा अब डोको मार्टले भने स्थानीय उत्पादन र आम सर्वसाधारणसम्म यसको पहुँच पुग्ने किसिमले काम गर्न थालिएको मल्लले बताए ।

उनले तिहारको आसपास सो साइटको लञ्च गरेर सर्वसाधारणसम्म डोकोमार्टको सेवा विस्तार गर्ने योजना भएको उनले सुनाए । ‘नेपालको स्थानीय तहमा उत्पादित वस्तुको बजारिकरण तथा सप्लाई गर्ने काम डोकोमार्टले गर्नेछ’ उनले भने-‘अन्य कम्पनीहरुले मल्टिनेश्नलाई प्राथमिकता दिइहरेका छन्, हामी भने नेपाली बजार र नेपाली उपभोक्ताको मागलाई मध्येनजर गरेर काम गर्छौं, यो सबैभन्दा ठूलो ईकमर्श साइट पनि हुनेछ ।’

उनले नेपाल भित्रैका उत्पादनलाई प्रोेत्साहन गर्ने ध्येयका साथ काम गर्न लागिएको बताए । कोरोना भाइरसको महामारीमा सुरक्षित र अर्थतन्त्रलाई पनि सुधार गर्दै लैजान योजनाका साथ यसको तयारी गरिएको उनको भनाई छ ।

‘अहिले सम्मका धेरै इकमर्श साइटहरु काठमाडौं केन्द्रित छन्, अब काठमाडौं बाहिर पनि राम्रो हस्तक्षेप गर्नु पर्छ, काठमाडौं बाहिरका ग्राहकलाई पनि ईकर्शको सेवा दिनु पर्छ भन्ने मनसायले हामीले डोको मार्टको सेवा ल्याएका छौं,’ उनले भने । उनले डोकोमार्ट पोखराबाट सुरुवात गरेर पहिलो चरणमा गण्डकी, बागमती र लुम्बिनी प्रदेशलाई बढी फोकस गरेर सेवा दिने योजना रहेको सुनाए ।

यसले स्थानीय कृषक उद्यमी र उद्योगी व्यवसायीलाई पनि राहत हुने उनको भनाई छ । मल्लका अनुसार डोकोमार्टले स्थानीय बजारमा उत्पादित विभिन्न वस्तुहरुको बजारीकरण तथा सप्लाईको काम गर्नेछ ।

उनले तिहारमा लञ्च गर्नको लागि मासुजन्य आइटमहरु, कितावहरु लगायतका प्रोडक्टहरु र साबुन उद्योगसँग पनि कुरा भइहरेको बताए । ‘जति टाढाबाट सामान आउँछ, कोरोना संक्रमणको दर बढेर जाने भएकोले हाम्रो अर्थतन्त्र, व्यापार, स्थानीय उद्यमी, किसान र स्थानीय उद्योगीलाई पनि फाइदा तथा सहयोग पुर्याउने र संक्रमणबाट हुने क्षतिलाई पनि कम गर्न सककिन्छ भनेर डोको मार्ट ल्याउने योजना बनाएका हौं,’ उनले भने ।

कम्पनीमा ५ जना प्रमोटर

हाल कम्पनीमा ५ जना प्रमोटरहरु रहेका छन् । स्थानीय उद्योगी व्यवसायीह मिलेर कम्पनीको स्थापना भएको छ । कम्पनीको प्रमोटरमा सुवास मल्ल, अनन्त कुमार श्रेष्ठ, मुक्ष प्रसाद पंगेनी, सन्तोष पन्त र दिलिप न्यौपाने रहेका छन् ।

पाँचै जना सामाजिक कार्यमा तल्लिन्, उद्यमी र प्राविधिक पक्षको पनि अनुभव भएकोले कम्पनीले लिएको लक्ष्य पूरा हुनेमा ढुक्क रहेको मल्लको भनाई छ ।

एक वर्षसम्म १ करोडको पुँजी बनाउने

अहिले कम्पनीले टोकनमा २५ लाखको लगानी गरेको छ । उनका अनुसार चालु आर्थिक वर्षभित्रै कम्पनीको कुल पुँजी १ करोड रुपैयाँको हुनेछ । कम्पनीको सप्लाई र डिमाण्ड नेपाली बजार नै भएकोले पहिलो वार्षिक साधारणसभाबाट पुँजी बढाउन सकिने गरी याेजना बनेकाे उनले बताए ।

‘अहिलेसम्म नेपाली बजारमा सप्लाई मल्टिेनेश्नल कम्पनीका उत्पादन छन्, त्यसले नेपाली अर्थतन्त्रलाई समस्या पार्छ । तर, हाम्रो लक्ष्य भनेको नेपाली नै उत्पादक र नेपाली नै सप्लायर हो,’ उनले भने । कम्पनीले काठमाडाैं बाहिरलाइ प्राथमिकता दिएर बजारीकरणा गर्ने भएकाे छ ।

यसको फूल फेजको सञ्चालन भने २०७८ बैशाखमा हुने उनले बताए । तिहारका लागि केही प्रडक्टहरु जम्मा गरिसकेकोले यतिबेला स्थानीय उत्पादनलाई प्रमोट गर्ने भएकोले स्थानीय तहहरुसँग समन्वय गर्ने काम भइरहेको उनको भनाई छ ।

‘हाम्रो बढी जोड भनेको सहकारीहरु, कृषि समूह, उत्पादनमा केन्द्रित भएकोले उद्यमीहरुको समूह, महिलाहरुको समूह, कृषिका उत्पादन, हस्तकलाका उत्पादन, कपडाहरुका उत्पादन, हामीले सप्लाई गर्ने काम गर्छौं, अहिले पनि धेरै उद्योगीहरुसँग सम्झौता भइरहेको छ, हामीले विशेष गरेर मार्केटको आवश्यकता अनुसार सप्लाई गर्नेर्छौं,’ उनले भने ।

एक वर्ष भित्र नेपाल भित्र नै सप्लाई गर्ने भएको र अहिले पनि विदेशमा रहेका धेरै नेपालीले चासो देखाएकोले उनीहरुको आवश्यकतालाई पनि मध्येनजर गर्दै विदेशमा पनि सप्लाई गर्ने लक्ष्य रहने उनको भनाई छ ।

अहिले नेपाली बजारलाई सेवा गरिसकेपछि र नेपाली बजार स्तरोन्नती गरिसकेपछि विदेशतिर पनि सप्लाई गर्ने योजना रहेको उनले बताए । ‘हालसम्म खुलेका ईकमर्शले बाहिरको सामान मात्र बिक्री गर्ने जुन पद्धती छ त्यसलाई अन्त्य र त्यसमा रहेका बिचौलियाको अन्त्य गर्ने हाम्रो लक्ष्य रहेको छ, विस्तारै लगानी पनि बढाउँदै जानेछौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.