२०७७ माघ २३ गते २०:५२ विकासन्युज
काठमाडौं । आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । ट्राभल्सले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा उक्त सहयाेग हस्तान्तरण गरेकाे हाे ।
ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा बिहीबार आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालक सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।
साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले आन्तरिक पर्यटकलाई लक्षित गर्दै विभिन्न ग्राहकमूखी योजना ल्याएको छ । बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समुहले पर्यटन क्षेत्रको समग्र बिकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायी मित्रहरुलाई पर्यटन विकासका लागि जुट्न आग्रह गर्दै कोरोना महामारीकाबीच स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्ण रुपमा पालना गर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गरे ।
आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले पर्यटन विकासका लागि आइएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन बिकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत सापकोटाले कोरोनाले बाह्य पर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिएका छन् । साथै, यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाउँदै समस्त ट्रेड साझेदारहरु, ग्राहकहरू र शुभचिन्तकले दिनु भएको निरन्तर समर्थन र विश्वासका लागि धन्यवाद दिँदै आगामी दिनमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.