२०७७ माघ २७ गते १७:४१ विकासन्युज
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीलाई नियुक्त गरेका छन् । निवर्तमान महानिर्देशक विनोद बहादुर कुवँरलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव बनाएर पठाएपछि विभागको महानिर्देशक पद रिक्त थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभागलाई आफू मातहत ल्याएपछि मैनालीलाई महानिर्देशक बनाएर पठाइएको थियो । सोभन्दा अघि विभाग पनि अर्थमन्त्रालय अन्तरगत नै थियो ।
नक्कली भ्याट बिल छानबिनमा अब्बल काम गरेका मैनाली राजस्वकै क्याडर हुन् । मैनाली आन्तरिक राजस्व विभागमा रहदा नेपालमै पहिलो पटक नक्कली भ्याट विल प्रकरण सार्वजनिक भएको थियो । सो बेलामा विभागको महानिर्देशक पूर्व अर्थ सचिव राजन खनाल थिए भने अहिलेका स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि विभागमै थिए । अर्थ सचिवको जिम्मेवारीमा भने पूर्व सचिव रामेश्वर खनाल थिए ।
राजस्व छली तथा नक्कली भ्याट बिल प्रकरणमा दोषीको पहिचान गरी कारबाही गर्न अब्बल प्रमाणित भएका मैनालीलाई मुलुकै सबैभन्दा बढी राजस्व उठाउने निकाय आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउन लागिएको हो । मैनालीलाई आन्तरिक रावस्व विभागको महानिर्देशकमा नियुक्त गर्नको लागि सहमती माग्दै सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।
सम्बन्धित समाचार
Copyright © 2025 Bikash Media Pvt. Ltd.