२०७७ माघ २८ गते ११:३२ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार मेची उद्योग वाणिज्य संघको १७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले व्यावसायिक सहजीकरण गर्ने लगानीको वातावरण बनाइदिने र निजी क्षेत्रलाई बिना लगानीको पार्टनरको रुपमा स्विकार गर्ने हो भने मुलुकको विकास तथा सम्मृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने बताएका हुन् ।
मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्य हुन सकेमा नेपालमा पनि हामीले चाहेको आर्थिक विकास र सम्मृद्धिको सम्भावना रहेको बताए ।
“केही वर्ष अगाडि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आउनुभएको थियो । त्यसबेला मैले उहाँलाई काठमाडौका केही स्थानहरु घुमाउने अवसर पाएको थिए । त्यसबेला मैले उहाँलाई सोधेको थिए– प्रधानमन्त्रीज्यू, यति छिटो समयभित्र मलेसियाले गरेको विकासको रहस्य के हो भनेर । उहाँले भनेको मैले अहिले पनि निकै सम्झिइरहेको छु । उहाँले भन्नुभएको थियो राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन,” उहाँले भने ।
‘वास्तवमै यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्छ,’ उनी भन्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.