२०७७ माघ २८ गते १२:०३ विकासन्युज
काठमाडौं । नेपाल उद्योग परिसंघले परिसंघमा परिचर्चा कार्यक्रम अन्तर्गत छलफल गरेको छ । अर्थ मन्त्रालयका राजस्व सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकहरुको उपस्थितिमा संघले उक्त छलफल गरेको हो ।
उक्त छलफल कोभिड–१९ ले सिथिल बनाएको अर्थ व्यवस्था तथा औद्योगिक क्षेत्रलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । सरकार तथा निजी क्षेत्र विचमा विश्वासको वातावरण बढाउदै लैजाने उद्देश्यले परिसंघले यस प्रकारको अन्तरक्रिया आयोजना गरेको जनाएको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोभिडले सिथिल बनाएको औद्योगिक क्षेत्रलाई सरकारले चालू आ.व.को बजेट तथा मौद्रिक नीति मार्फत केहि राहत दिन खोजे पनि कार्यान्वयन तहमा हालसम्म हुन नसकेकोले यस्ता विषयमा मन्त्रालयले सहजिकरण गर्नुपर्ने बताए ।
नेपालमा व्यवसाय लागत धेरै भएको सन्दर्भमा यसलाई कम गर्न परिसंघले छुट्टै अनुसन्धान इकाईको स्थापना गरि काम अगाडी बढाएको पनि उनले जानकारी दिए
यस्तै मोरले कोरोनाको कहरका बेला फ्रण्ट लाइनमा खटिएर सेवा प्रवाह गर्ने निजी प्रतिष्ठानका कर्मचारी कामदार कोरोना विरुद्धको खोप लगाउने प्राथमिकतामा नपरेकोले यो समूहलाई पनि दोस्रो चरणको कार्यक्रममा समावेश गरिनु पर्ने र निजी क्षेत्रलाई खोप आयातको अनुमति दिनु पर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि राजस्व सचिव रामशरण पुडासैनीले सरकारले निजी क्षेत्रसंगको सहकार्यलाई नविन सोचले अगाडि बढाउन खोजेको बताउँदै अब पहिलेको जस्तो अविश्वासको वातावरण कायम नरहेको बताए ।
अर्थमन्त्रालय आगामी आर्थिक वर्षको बजेटको निर्माणमा जुटी सकेकोले तत्काल समाधान गर्न नसकिने विषयहरुलाई बजेट मार्फत समेत सम्बोधन गर्ने मन्त्रालयको प्रयास रहने पनि उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.