संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइन्छ: रामकुमारी झाँक्री

  २०७७ माघ २८ गते १५:५०     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताएकी छिन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रिले संविधानको चिरहण गर्नेहरुका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताएकी हुन् । नागरिकले बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने उनी बताउँछिन् ।

प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहि छाप गरी निरंकुशताको साक्षि बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाईने उनको भनाई छ ।

यस्तै उनले अदालतले कानुनसम्मत्, संविधानसम्मत् फैसला नगरे राज्यको शक्ति पृथकिकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने बताइन् ।