रविन्द्र भट्टराईको सेयर मन्त्रः लगानीकर्ताको लागि कत्तिको मन्त्र बन्न सक्छ ?

  २०७७ माघ २८ गते १७:१५     विकासन्युज

काठमाडौं । सेयर बजारबारे जानकार रविन्द्र भट्टराईले पछिल्लो समय ‘शेयर मन्त्र’ पुस्तक बजारमा ल्याएका छन् । पुँजी बजारका विभिन्न विषयमा पुस्तक तथा लेख प्रकाशन गरिरहने भट्टराईको पछिल्लो पुस्तक ‘शेयर मन्त्र’ लगानीकर्ताको लागि कत्तिको मन्त्र बन्न सक्छ भन्ने विषयमा धेरैको जिज्ञासा हुन सक्छ ।

भट्टराईले लेखेको पुस्तक उनी आवद्ध कम्पनी सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसीएस) प्रालिले प्रकाशन गरेको हो । पुस्तकको सम्पादन पुँजी बजारबारे कलम चलाई रहने पत्रकार डुन्डुराज आचार्यले गरेका छन् । पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ ।

पुस्तकमा पुँजी बजारबारे विश्वका नयाँ अध्ययन तथा सफल लगानीकर्ताको अनुभव र भनाईहरु पनि समेटिएको छ । पत्रकारिताको पृष्ठभूमिका लेखक भट्टराई र सम्पादक पनि पत्रकार नै भएकोले लेखनशैली सरल छ । पुँजी बजारबारे धेरै ‘जार्गन’ प्रयोग गरिएको छैन । पुँजी बजार जस्तो जटिल विषयलाई सरल, उदाहरणसहित र सामान्य शब्दावली प्रयोग गरिएकोले पहिलो पटक यस क्षेत्रबारे अध्ययन गर्ने व्यक्तिले पनि सहजै बुझ्न सक्ने गरी पुस्तक तयार भएको छ ।

पुस्तकमा पुँजी बजारबारे नेपालका विद्यमान कानुन र नियमहरुको पनि अध्यावधिक चर्चा गरिएको छ । कुल १९ अध्याय रहेको सो पुस्तक १९४ पृष्ठको छ ।

यो पुस्तकमा समावेश भएका विषयका साथै अन्त्यमा १९औं अध्यायमा समावेश गरिएको सारांश खण्ड उपयोगी हुन सक्छ । किनभने पुस्तकमा समावेश भएका मुख्य विषयवस्तुलाई सारांशमा समेटिएको छ । सारांशमा उल्लेख गरिएका विषयको विस्तृतमा अघिल्ला अध्यायहरुमा व्याख्या गरिएको छ ।

पुस्तकको सार

– सेयर बजारमा पैसा बनाउन अति तीक्ष्ण प्रतिभा वा ज्ञान हुनुपर्छ भन्ने छैन । लोक सेवा आयोगमा प्रथम हुँदैमा सेयर बजारमा सफल भइन्छ भन्ने छैन । सेयरमा पैसा बनाउन सामान्य नियम अवलम्बन गर्नुपर्छ, अनुशासित बन्नुपर्छ, धैर्य गर्नुपर्छ । सेयर बजारमा धेरै कारोबार गर्नेलेभन्दा किनेर विर्सनेले बढी पैसा कमाइरहेका हुन्छन् ।

– केही प्राथमिक निष्कासन (आईपीओ) मा सेयर नपरेकै कारण बजारबाट भाग्नु वा हतोत्साही हुनु हुँदैन । हामीले सेयर नभर्ने हो भने अरु कसैले भरिरहेको हुन्छ । हामीलाई पर्ने सेयर भर्नेलाई परिरहेको हुन्छ । त्यसैले धनी झनै धनी हुँदै जान्छन् भने हामीले कमाउन सक्ने पैसा पनि उनीहरुले लगिरहेका हुन्छन् । त्यसैले सेयरमा लगानी गर्नबाट आत्मसमर्पण गर्नु हुँदैन ।

– शताब्दीकै सफल सेयर लगानीकर्ता वारेन वफेटबाट हामीले धेरै कुरा सिक्न सक्छौं । व्यक्ति भन्दा पनि उनका विचार, सिद्धान्त र रणनीति लगानीमा सफल बन्नका लागि महत्वपूर्ण हुन सक्छन् । बजारमा प्रवेश गर्ने र निस्कने, कम्पनी छान्ने, पोर्टफोलियो बनाउने, जोखिम बहन गर्ने उनका तरिका हाम्रा लागि मार्ग निर्देशक बन्न सक्छन् ।

– महिलाभन्दा पुरुष लगानीकर्ता बढी आत्मविश्वासी हुन्छन् । त्यसैले उनीहरुले बढी जोखिम लिन्छन् । जोखिम बढी लिएपनि महिला लगानीकर्ताको कमाईं बढी हुन्छ । महिलामा पनि अविवाहित महिलाको कमाईं बढी हुन्छ ।

– सेयर बजार अथाह पैसा र सम्पत्ति भएको ठाउँ हो ।

– सेयर बजार सम्पत्ति बनाउने मात्र नभईं नियमित आम्दानीको राम्रो स्रोत पनि हो ।

– अल्पकालमा सेयर बजारमा उतारचढाव देखिए पनि दीर्घकालमा नेप्से परिसुचक वा समग्र बजार माथि नै गइरहेको हुन्छ ।

– सेयर बजारमा कम्पनी छनोट गर्ने काम निकै नै चुनौतिपूर्ण छ । आम्दानीको बृद्धि, संचालन नाफा, विक्रीमा नाफाको मार्जिन, नगद प्रवाह, प्रतिसेयर आम्दानी, इक्वीटीमा प्रतिफल, प्रतिस्पर्धी क्षमता आदिका आधारमा ग्रोथ कम्पनी छनोट गर्न सकिन्छ ।

– सेयर बजारमा अल्पकालिन लगानीभन्दा दीर्घकालिन अबधिको लगानीले बढी पैसा बन्छ ।

– पोर्टफोलियो बनाएर लगानी गर्नु नै जोखिम न्यूनिकरणको महत्वपूर्ण विधि हो ।

– सेयरको मूल्य जति बढ्यो, जोखिम त्यति नै बढेर जान्छ । यस्तै, सेयरको मूल्य जति घट्यो, जोखिम त्यति नै कम भएर जान्छ ।

– सेयर बजार घट्दै जाँदा लगानीकर्ता बजारबाट भाग्दै गइरहेका हुन्छन् । मूल्य बढेर माथि पुगेपछि अर्काे पटक घटेको बेलामा किन्छु भन्ने सोच्छन् ।

– अनलाइन कारोबारको सुरुवातसँगै सेयर किन्ने बेच्ने बटम लगानीकर्ताको हातमा आएको छ । सेयर कारोबारको कमिसन पनि घट्दै गएको छ । तर, संचारमाध्यमको विकास र सुचनाको बद्दो पहुँचले लगानीकर्तामा इमोसनल लागत भने बढ्दै गएको छ ।

– आफै किनबेच गरेपनि सेयर कारोबारमा ब्रोकर अनिवार्य चाहिन्छ । हरेक कारोबारमा ब्रोकरलाई कमिसन बुझाउनु पर्छ । कमिसनको लोभले ब्रोकरले सेयर होल्ड गर्नेभन्दा पनि कारोबार बढाउने प्रकारको हुन्छ । त्यसैले कुन किनौं, बेचौं कि राखौं भनेर ब्रोकरलाई नसोध्नु नै राम्रो हुन्छ ।

– सेयर बजार जुवा जस्तो होइन । पैसा कमाउने आशामा भाग्य बुझ्न ज्योतिषीकहाँ जानु गलत हो ।

– लगानीकर्ताको आयस्तर, जोखिम बहन गर्ने क्षमता, सुचनामा पहुँच आदिका आधारमा सेयर बजारमा छिर्ने समय फरक फरक हुन्छ ।

– आफैले काम गरेर मात्र पैसा कमाइन्छ भन्ने छैन । पैसालाई काम लगाएर पनि पैसा कमाउन सकिन्छ । पैसा कमाउने क्षमता मानिसमा भन्दा पैसामा बढी हुन्छ ।

– सेयर बजार कम्पनीको स्वामित्व किनबेच हुने ठाउँ हो । यहाँ आशा, लोभ र निरासा मात्रै होइन, रोचकता पनि त्यतिकै हुन्छ । धेरै कुरा सिक्न र मनोरञ्जन लिन पनि सकिन्छ ।