शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

  २०७७ माघ २९ गते १४:२३     विकासन्युज

काठमाडाैं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ”, उनले भनिन् ।

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव तीन डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।