प्रधानमन्त्री रोजगार कार्यक्रमः १५ हजार बढीले पाए राेजगारी, कोषमा ४ अर्ब १८ करोड संकलन

  २०७७ फागुन ३ गते १२:१२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतफागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना ब्यक्तिहरु कामको लागि पारिश्रमिक तर्फ रोजगारीमा खटिएको बताएका हुन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यरत २ लाख जना श्रमिकको सामुहिक दुर्घटना बीमा गरिएको पनि जानकारी दिए । मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए । उनले हालसम्म ९ वटा देशहरुसँग द्धिपक्षिय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ वटा देशहरुसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडी बढाईएको पनि बताए ।

कोभिड १९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्दार गरिसकिएको र थप ३ महिलासहित ३९ जनाको उद्दारका लागि विभिन्न दुतावासहरुमा पत्राचार गरिएको उनले जानकारी दिए ।

मन्त्री चौधरीले विभिन्न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु संशोधन तथा जारी भएको पनि जानकारी दिए । वैदेशिक रोजगार बोर्डबाट बैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ जना कामदारको शव घर ठेगानामा पुर्याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि गरिएको उनको भनाई छ । उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएको समेत जानकारी दिए ।