२०७७ फागुन ११ गते १६:५० विकासन्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन मनाएका छन् ।
पारिवारिक जमघटमा प्रधानमन्त्री ओलीले उनको सरकारी निवास वालुवाटारमा जन्मदिन मनाएका हुन् ।
उनको जन्मदिनमा पिता मोहन प्रसाद ओलीले टिका लगाइदिएका थिए । प्रजातन्त्र स्थापनको लागि संघर्ष गर्दा प्रधानमन्त्री ओलीलाई पन्चायती सरकारले १४ वर्षभन्दा बढी समय जेलमा राखेको थियो ।
नेकपा मालेमा आबद्ध ओली उनको पार्टीले झापा विद्रोह गरेकै समयदेखि भूमिगत रहेका थिए । प्रजातन्त्र पुनस्थापना भएपछि खुल्ला राजनीतिमा आएको ओली संलग्न पार्टी नेकपा माले २०४८ सालपछि तत्कालिन माक्र्सबादीसँग एकता गरी नेकपा एमाले बनेको थियो ।
ओली अहिले दोस्रो कार्यकालमा प्रधानमन्त्रीका रुपमा छन् । यसअघि उनी २०७२ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाले संविधान बनाए लगत्तै तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा ओली प्रधानमन्त्री भएका थिए । त्यसपछि २०७४ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेले बाम गठबन्धन गरेर निर्वाचनमा गएको थियो । सो निर्वाचनमा बाम गठबन्धनले सुविधाजनक बहुमत पाएको थियो ।
ओली नेतृत्वमा सरकार बनेपछि तत्कालिन माओबादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेको थियो । तर, नेकपाले आन्तरिक विवाद व्यवस्थापन गर्न सकेन । सोही कारण अहिले नेकपा राजनीतिक रुपमा विभाजन भइसकेको छ भने प्रधानमन्त्री ओलीसले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्ने तयारी गरेका छन् । यद्यपि प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा न्यायिक निरुपणको चरणमा छ ।
प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका छन् । र, पनि उनी स्वस्थ र सक्रिय देखिएका छन् । उनको पार्टीले गरेको देशव्यापी सभाहरुमा उनी सम्बोधन गर्दै हिडिरहेका छन् । प्रधानमन्त्री ओली अहिले पनि आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर सार्वजनिक वक्तव्य दिने थोरै नेतामध्येमा पर्छन् । (सबै तस्बीरहरु प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको हो ।)
Copyright © 2025 Bikash Media Pvt. Ltd.