गभर्नर अधिकारीको क्यूआर कोड अभियानः अटो रिक्सादेखि तरकारी पसल र भेटीसम्म क्यूआर कोड

  २०७७ फागुन १४ गते १४:५१     सन्ताेष राेकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय क्यूआर कोड सञ्चालन अभियानमै लागेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल भुक्तानीमा जोड दिन विभिन्न समयमा आग्रह तथा निर्देशन समेत दिइरहेका गभर्नर अधिकारीको पछिल्लो समय अधिकांश समय क्यूआर कोड आरम्भमै बित्छ ।

उनी पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न ठाउँमा सुरु गरेको डिजिटल भुक्तानी सेवा सुभारम्भ कार्यक्रममै व्यस्त हुन्छन् । क्यूआर कोडमार्फत नै वित्तीय कारोबार गर्ने अभ्यास अघि सार्नु पर्ने भन्दै उनी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सुरु गर्ने क्यूआर कोड सेवाको सुरुवात गर्ने काममा आफै सहभागी भएर प्राेत्साहन गरिरहेका छन् ।

कार्यक्रममा पुगेर उनले राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउँदै आएका छन् । उनले काठमाडौं भित्र मात्र होइन काठमाडौं बाहिर पनि क्यूआर कोडको सुरुवात गर्नुपर्छ भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दै आफै उपत्यका बाहिर पुगेर पनि क्यूआर कोडको सुरुवात गरिरहेका छन् ।

अहिले उनकै आग्रह र निर्देशनमा काठमाडौं भित्रका विभिन्न स्थानहरुमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले क्युआर कोडको सुरुवात गरिरहेका छन् । उनले नक्साल, कालिमाटी, बल्खु, कुलेश्वर, तीनकुने लगायतका तरकारी बजारहरुमा क्यूआर कोडको सुभारम्भ गरिसकेका छन् भने विभिन्न सुनचाँदी पसल, अटो रिक्सा,  मन्दिर लगायत ठाउँमा क्यूआर कोडको सुभारम्भ आफै सरिक भएर गरेका छन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको केन्द्रिय कार्यालय र शाखानजिक रहेका तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा राख्न आग्रह मात्र होइन निर्देशन पनि दिँदै आएको छ । विभिन्न वाणिज्य बैंकहरुले पनि त्यसलाई पालना गर्दै विभिन्न ठाउँहरुमा क्यूआर कोडको सुभारम्भ गर्दै आएका छन् ।

विगत दुई महिनादेखि उनले क्यूआर कोडलाई निकै प्राथमिकता दिएर काम गरिरहेका छन् । गभर्नर अधिकारीले नक्साल तरकारी बजारमा पुस १० गते सानिमा बैंकले सुरु गरको क्युआर कोड सुभारम्भ गरेका थिए । यस्तै, पुस २४ गते प्रभु बैंकले कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेसँगै त्यसपछि माघ १६ मा नबिल बैंकले काठमाडौंको कुलेश्वर फलफूल बजार र एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडको सुरुवात गरेको थियो ।

यस्तै, माघ २१ मा माछापुच्छ्रे बैंकले राजधानीको तीनकुने तरकारी बजारमा क्यूआर कोडको सुरुवात गरेको थियो । ती सबै कार्यक्रममा गभर्नर अधिकारी आफै सहभागी बनेका थिए । उनले ती सबै कार्यक्रममा सबै बैंक तथा वित्तीय संस्थालाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिन निर्देशन मात्र होइन यसलाई दीगो बनाउन पनि सुझाव दिए ।

यस्तै, आज अर्थात शुक्रबार मात्रै गभर्नर अधिकारीले बैंक अफ काठमाडौंले पशुपति मन्दिरमा सुरु गरेको क्यूआर कोडको सुभारम्भ गरे । उनले पशुपति मन्दिरमा ५ हजार ५ सय ५७ रुपैयाँ दान दिँदै क्युआर कोडको सुभारम्भ गरेका हुन् । बैंक अफ काठमाडौंको क्यूआर कोड पशुपति मन्दिरमा सुरु भएसँगै अब पशुपतिमा जाने भक्तजनहरुले क्यूआर कोडमार्फत नै दान गर्न सक्नेछन् ।

उनले अब पशुपतिमा आउने भक्तजनहरुले क्यूआर कोडमार्फत दान गर्न सक्ने बताउँदै सबै क्षेत्रमा डिजिटल कारोबारलाई प्राथमिकता दिनु पर्ने बताए । उनका अनुसार अब डिजिटल कारोबार गर्दा पारदर्शिता पनि कायम हुने बताए । ‘अहिलेको हाम्रो फोकस डिजिटल कारोबारलाई नै प्राथमिकता दिने हो, डिजिटल भुक्तानीले पारदर्शीता मात्र होइन यसले हैसियत पनि देखाउँछ, बैंकलाई ऋण उपलब्ध गराउन पनि धेरै सहयोग पुर्याउँछ,’ उनले भने ।

काठमाडौं उपत्यका भित्र मात्र होइन काठमाडौं बाहिरका जिल्लाहरुमा पनि क्यूआर कोड हुनु पर्ने जोड अधिकारीको छ । देशभरी नै प्रविधिको प्रयोग बढाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिनु पर्ने उनको भनाई छ । गभर्नर अधिकारीले काठमाडौं उपत्यकामा पनि क्यूआर कोडको प्रयोग बढाउने उद्धेश्यले माघ ३० गते सिन्धुलीको कमलामाई नगरपालिकामा आफै पुगेर टेम्पोमा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेका थिए । सिभिल बैंकले सुरु गरेको सो क्यूआर कोडको सुभारम्भ पनि गभर्नर अधिकारीले नै गरेका थिए ।

यस्तै, धनगढीको त्रिनगर हाट बजारमा पनि क्युआर कोडको सुभारम्भ भएको छ । सो बजारमा माछापुच्छ्रे बैंकले फागुन ४ गतेदेखि क्यूआर कोडको सेवा सुभारम्भ गरेको थियो ।

गभर्नर अधिकारीले क्यूआर कोडलाई एक अभियानै रुपमा सञ्चालन गरेका छन् । आजभोलि उनको अधिकांश समय क्युआर कोड सुरुवातमै बित्ने गरेको छ । नेपाल सरकारले पनि मुलुकलाई डिजिटल रुपमा अगाडि बढाउने रणनीति लिएको छ । सोही अनुरुप सरकारले पनि काम गरिरहेको छ । नेपालमा विशेष गरेर कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयपछि डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ ।