सञ्चालनमा आयो नेपालकै पहिलो बगबाउन्टी ‘बगभी’

  २०७७ फागुन २५ गते १३:१३     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो बगबाउन्टी ‘बगभी’ सञ्चालनमा आएको छ । सिनिकल टेक्नोलोजिले यसलाई दुई महिना १० दिनको परीक्षणपछि पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो । सिनिकलले गत पुष १४ गते बगभीलाई सार्वजनिक गरेको थियो ।

बगभी साइबर सुरक्षा प्रदान गर्ने एक प्लेटफर्म हो । यसमा आवद्ध भएका ह्याकरले विभिन्न कम्पनीका वेवसाइटहरुमा भएका सुरक्षा कमजोरी पत्ता लगाउने र रिपोर्ट गर्ने काम गर्छन् । यसरी रिपोर्ट गरेर वेवसाइट वा प्रोडक्टलाई सुरक्षित राख्न मद्दत पुग्छ । यो काम बापत ह्याकरले निश्चित रकम रिवार्ड बापत पाउँछन् ।

बगभीमा एकैदिन स्वदेश तथा विदेशका पाँच सय भन्दा धेरै सुरक्षा अनुसन्धाता (एथिकल ह्याकर) जोडिएको सिनिकल टेक्नोलोजीले बताएको छ । पहिलो दिनमै यति ठूलो संख्यामा ह्याकर जोडिदा बगभीका संस्थापक नरेश लाम्गादेले खुसी व्यक्त गरे । हालसम्म यसमा १० वटा कम्पनीहरू आवद्ध भईसकेका छन् । अन्य कम्पनीहरू पनि यसमा आवद्ध हुन इच्छुक रहेको लाम्गादेले बताए । कम्पनीका अनुसार यसमा आबद्ध कम्पनीहरूले साइबर सुरक्षा सेवा लिन सक्ने छन् ।