सीईडीबी हाइड्रोको आईपीओ बैशाख १७ गतेदेखि भर्न पाइने

  २०७८ वैशाख ८ गते ९:५८     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर(आईपीओ) आगामी बैशाख १७ गतेदेखि भर्न पाइने छ । कम्पनीले सो दिनदेखि सेयर निष्काशन गर्ने भएसँगै सर्वसाधारणले उक्त दिनदेखि सेयर भर्न पाउने भएका हुन् ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुँजी ८३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
यससँगै कम्पनीले एक सय रुपैयाँ अंकित दरका २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्ने छ । जसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । उनीहरुले बैशाख १७ गतेदेखि बैशाख २१ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा सेयर बिक्री नभएमा कम्पनीले बैशाख ३१ गतेसम्म सेयर बिक्री खुला गर्ने छ ।

उक्त सेयर निष्काशनको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । यससँगै सर्वसाधारणले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.