२०७८ वैशाख १० गते १८:४० विकासन्युज
काठमाडाैं । भोलीबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउन पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।
आयोजकले कोरोना भाईरसको महामारी बाबजुत पनि सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दिए । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना हुने बताए ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो । त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शक बिना संचालन हुनेछ ।
यस्तै प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्राव्धान आयोजकले क्लबलाई प्रदान गरेको छ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलीबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साझ साढे ५ बजेबाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछ । विजेताले ३५ लाख पाउनेछ भने यस्तै उपविजेताले १५ लाख पाउनेछन । व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख पाउने छन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.