२०७८ वैशाख १२ गते १५:४५ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ ।
नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमको विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन् ।
नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झौतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।
खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमको डाटा प्याकलाइ मोबाइल एपमै ल्याएका बताउँछन् । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलो भएको छ ।’
नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.