राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो, सदस्य सेवामा थप अब्बल बन्दै

  २०७८ वैशाख १४ गते १८:२२     विकासन्युज

काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ६९ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो ।

बैंकले बैशाख १४ गते प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको सेयर पुँजी २ अर्ब ८६ करोड रुपैयाँसहित ५९ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन् । बैकको एक वटा केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ ।

सदस्य सहकारी संघ/संस्थालाई दिने सेवामा सँधै अब्बल रहेको बैंकले नाफामा पनि आक्रमक रुपमा वृद्धि गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशतले लाभांश वितरण गरेको थियो भने बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ/संस्थाहरुलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ को प्रावधान अनुसार बचत र कर्जा कारोबार गरेकाे थियाे । साथै, १२ हजार ४६ वटा सदस्य सहकारी संघ/संस्थाहरुलाई संरक्षित पुँजी फिर्ता कोषबाट रकम समेत बाँडफाँड गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले जानकारी दिए ।