२०७८ वैशाख १५ गते १४:५५ विकासन्युज
काठमाडौं । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकरर्स एशोसियसन अफ नेपालले लगानीकर्तालाई ‘टी प्लस वान’ अर्थात कारोबार भएको मितिको भोलिपल्टै रकम तथा सेयर भुक्तानी गर्न आग्रह गरेको छ । एशोसियसनले निषेधज्ञाको असहज परिस्थितिमा दोश्रो बजार कारोबार निरन्तरतारको लागि लगानीकर्ता समक्ष उक्त आग्रह गरेको हो ।
संघले खरिद रकम तथा बिक्री गरिएको धितोपत्र टी प्लस वान भित्र हस्तान्तरण गर्न सक्ने यकिन गरेर मात्रै कारोबार गर्न आग्रह गरेको हो । बैशाख १६ गते हुने निषेधाज्ञा अवधिमा लगानीकर्ताले चेक मार्फत खरिद रकम तथा भौतिक निर्देशन पूर्जी (डीआईएस) मार्फत बिक्री गरिएको ब्रोकरलाई उपलब्ध गराउन असहज हुने भएकाले बोर्डले लगानीकर्तालाई सो अनुरोध गरेको हो ।
त्यसैले, त्यस्ता माध्यमबाट मात्र रकम तथा धितोपत्र भुक्तानी गर्दै कारोबार गरिरहेका लगानीकर्ताहरुले विद्युतिय माध्यमबाट रकम तथा मेरो सेयर (ईडीआईएस) मार्फत सेयर भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ ।
त्यस्तै, कारोबारको राफसाफ पश्चात लगानीकर्तालाई गर्नुपर्ने धितोपत्र तथा रकमको भुक्तानी समयमै गराउन ब्रोकर तयार रहेको संघले जनाएको छ ।
साथै, बैंक खाता अध्यावधिक नभएको, समयमै खरिद रकम भुक्तानी नगरेको, प्रणालीमा आउन सक्ने अनपेक्षित समस्या तथा कर्मचारी संक्रमित भई निश्चित क्षमतामा मात्र कार्यालय सञ्चालन गर्नु पर्ने बाहेका अवस्थामा ब्रोकरले समयमै बिक्री रकम तथा खरिद सेयर हस्तान्तरण गर्ने जानकारी गराएको छ ।
ब्रोकरले नेप्सेको निर्देशन पालना गर्दै विद्युतिय माध्यमको प्रयोग मार्फत सेयर कारोबार तथा राफसाफ निरन्तर गर्न तथा गराउने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.