२०७८ वैशाख ३० गते १३:०५ विकासन्युज
काठमाडौं । पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा वृद्धि हुँदै गएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७७ अनुसार चैत महिनामा हालसम्मकै उच्च कारोबार भएको हो । उक्त तथ्यांक अनुसार गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्र एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो ।
चैत महिनामा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । गत फागुन महिनामा १६ लाख पटक प्रयोग भएको थियो ।
पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा वृद्धि भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.