२०७८ असार ११ गते ८:५७ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमको मोबाइल सवा अवरुद्धको विषयमा अध्ययन गर्न छानविन समिति गठन गरिएको छ ।
बुधबार बिहान करिब साढे २ घण्टा टेलिमको प्रिपेड र पोस्पेड मोबाइल सेवा अवरुद्ध भएको थियो । उक्त विषयमा छानविन गर्न बिहीबार उच्चस्तरीय छानविन समिति गठन भएको हो ।
नेपाल टेलिकमले सेवा अवरुद्धको विषयमा अध्ययन गर्न आन्तरिक रुपमा समिति गठन गरेको थियो । उक्त समितिले अध्ययन गर्नभन्दा उच्चस्तरीय समिति गठन बनाएर अध्ययन गर्दा प्रभावकारी हुने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको अग्रसरतामा समिति गठन भएको जनाईएको छ ।
टेलिकमका सीसीओ प्रतिभा वैद्यको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गरिएको छ । उक्त समितिमा पुल्चोक इन्जिनियरिङको तर्फबाट एक जना प्राविधिक, मन्त्रालयका एक जना प्राविधिक, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तर्फबाट एक जना प्राविधिक, टेलिकमका उप–प्रबन्धक केपी भण्डारी, आन्तरिक लेखा परीक्षण विभागकी चाटर्ड अकाउन्टेन्ट शुभा कायस्थ सदस्य रहेका छन् ।
उक्त समितिलाई ७ दिनको समय दिईएको छ । समितिले सेवा अवरुद्ध हुनुको कारण, त्यसबाट भएको क्षति लगाएका विषयमा अध्ययन गर्नेछन् ।
बुधबार नै नियोजित रुपमा टेलिकमको सेवा अवरुद्ध भएको भन्दै कर्मचारीले विरोध गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.