२०७८ असार १४ गते १८:५४ विकासन्युज
काठमाडौं । यातायात व्यवसायी र मजदुर संघ-संगठनका प्रतिनिधिहरुले काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई मात्रै जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय अव्यवहारिक रहेको ठहर गरेका छन् । उनीहरुले असार १५ गतेदेखि लागू हुने गरी उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेको उक्त संयुक्त निणर्यमा ध्यानाकर्षण गराउँदै सो बताएका हुन् ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज(असार १४ गते) संयुक्त रुपमा एक विज्ञप्ति मार्फत सो बताएका हुन् । साथै, असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको र उक्त निर्णय सच्याउन आग्रह गर्दै सबै क्षेत्रमा सबै सवारी चलाउन पाउने व्यवस्था गर्न आग्रह गरेका छन् ।
यदि देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था नगरे आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने उनीहरुले चेतावनी दिएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.