थपिदै फोरजीका ग्राहक, साढे २ करोडको पहुँचमा इन्टरनेट सेवा

  २०७८ असार १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७८ लाख बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको (गत साउनदेखि चैत मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेको हो ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेको छ । गत फागुन महिनामा ४८ लाख ५६ हजार ७४२ रहेका थिए ।

गत फागुन महिनाको तुलनामा चैत महिनामा एनसेलका फोरजीका ग्राहक एक लाख ६० हजार ४२८ थपिएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २६ लाख ३६ हजार ६४७ जना पुगेका छन् । गत फागुन महिनाको तुलनामा चैत महिनामा ४७ हजार ३५३ जनाले बृद्धि भएको छ । गत फागुन महिनामा फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ रहेका थिए ।

यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा ग्राहक संख्यामा ५ हजार बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।

फोरजीका प्रयोगकर्ता सगैँ गत फागुन महिनाको तुलनामा चैत महिनामा २ लाख बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् ।

गत फागुन महिनामा एक करोड १५ लाख ६५ हजार बढी थ्रीजीका प्रयोगकर्ता रहेकोमा चैत महिनामा एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ ।

जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ ।

नेपालमा ८९ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणको तथ्यांक अनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजार बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुन महिनामा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.