सार्वजनिक खरिद कार्यमा संलग्न हुने कर्मचारीको योग्यता निर्धारण

  २०७८ असार १८ गते ११:३५     विकासन्युज

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यलयले सार्वजनिक निकायमा खरीदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरेको छ ।

सार्वजनिक खरीदसम्बन्धी कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन सार्वजनिक निकायमा खरीद महाशाखा वा एकाइ गठन विधि र सदस्य सङ्ख्या निर्धारणलगायत प्रावधानसहितको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरिएको प्रवक्ता विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

स्वीकृत मापदण्डमा खरीद एकाइ प्रमुख तथा सदस्यको योग्यता निर्धारण तथा बोलपत्र मूल्याङ्कन समिति र खरीद सम्झौता व्यवस्थापन /कार्यान्वयनमा काम गर्ने कर्मचारीको योग्यता निर्धारण गरिएको छ ।

खरीदमा संलग्न कर्मचारीलाई तालीम र क्षमता विकास कार्यक्रम, आन्तरिक नियन्त्रण प्रणाली र खरीदमा संलग्न कर्मचारीको स्वार्थ बाझिन नहुनेलगायत विषयमा निश्चित आधार, योग्यता र मापदण्ड समावेश गरी त्यसमा संलग्न कर्मचारीको योग्यता निर्धारण मापदण्ड सचिवस्तरीय निर्णयबाट स्वीकृत गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

सार्वजनिक खरीद ऐन २०६३ मा सार्वजनिक निकायले खरीदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरीद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरीद कार्यसम्बन्धी ज्ञान भएको वा तालीमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ ।

कार्य प्रकृतिका आधारमा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरीदसम्बन्धी ज्ञान भएका वा तालीम लिएका कर्मचारीलाई समावेश गरी खरीद एकाइ गठन गरिनुपर्ने छ । मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई खरीद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्ने छ ।

खरीद सम्झौता व्यवस्थापनमा काम गर्ने कर्मचारी खरीदको प्रकृतिसँग मेलखाने विषयमा प्राविधिक ज्ञान वा अनुभव भएको हुनुपर्ने मापदण्ड र योग्यतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.