सवारी लाइसेन्सको नवीकरण तथा कर भुक्तानी अब नागरिक एपबाटै

  २०७८ असार २२ गते १०:३२     विकासन्युज

काठमाडौं । अब सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको हो ।

बाग्मति प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक सूचना प्रकाशित गरेर सवारीको कर, जरिवाना तथा अन्य दस्तुर र बीमा रकम नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गर्न लागिएको जनाएको हो ।

यातायात सम्बन्धि सेवालाई प्रविधिमैत्री र सहज बनाउन यो व्यवस्था गर्न लागिएको भन्दै मन्त्रालयले नागरिक एपमा रहेको सवारी कर पोर्टलमा आफ्नो सवारीको विवरण अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

बागमती प्रदेशका यातायात व्यवस्था/सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीहरुको विवरण अद्यावधिक गर्ने काम भइरहेकाले विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । आउँदो साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ ।

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको थियो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको थियो ।

पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो ।

नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.