२०७८ असार २७ गते १४:३४ विकासन्युज
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्तागर्न ७२ घण्टाको समय दिएका विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारलाई मूल्यबृद्धि फिर्तागर्न समय दिदा माग सम्बोधन नभएको भन्दै उनीहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको जनाएका हुन ।
५ विद्यार्थी युनियमले आईतबार पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिए पनि पूरा नभएकोले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले असार २८ गते अर्थात भोली नेपाल आयल निगमका गाडी चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र विक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमार्फत् विद्यार्थी संगठनहरूले जानकारी दिएका छन् ।
असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्नेसमेत उनीहरूले घोषणा गरेका छन् ।
उक्त विज्ञप्तीमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेलले हस्ताक्षर गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.