२०७८ साउन १ गते ११:५१ विकासन्युज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । लामो समयदेखिको तयारी अन्तरगत आजदेखि अबैध फोन नियन्त्रण गर्न ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो ।
प्राधिकरणले मोवाइल सेटको आयात पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आईएमईआई नम्बर दर्ता गर्नु पर्ने प्रावधान रहेको भन्दै मोबालल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।
प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडीएमएस सिष्टम लागु भएतापनि हाल सञ्चालनमा रहेका मोबाइल फोनमा कुनै अवरोध नहुने जनाएको छ ।
‘पहिलो चरणमा व्यवसायिक आयातकर्ताले मोवाइलको आयात गर्दा आईएमईआई रजिष्ट्रेशन मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम मार्फत गर्ने व्यवस्था मिलाएको छ । उक्त प्रणालीलाई क्रमश पूर्ण रुपमा लागु गरी मोवाइलको आयात एवम प्रयोगलाई थप व्यवस्थित, भरपर्दाे र सुरक्षित बनाईनेछ’, सूचनामा भनिएको छ ।
एमडीएम सिस्टमले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ । एमडीएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिल स्थित भवन निमार्ण गरेको छ ।
प्राधिकरणका अनुसार सफ्टवेयरले वैध मोबाइललाई ह्वाइट लिस्ट र अवैधलाई कालोसूची (ब्ल्याक लिस्ट) मा राख्ने गर्छ ।
प्राधिकरणले २०७४ साल वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आबेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा छनोट भएको कम्पनिले ६ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो । जसमा ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनीलाई एमडीएमएस जडान गर्न ८० करोड बराबरको ठेक्का दिईएको थियो ।
सम्झौता भएको मितिले ६ महिनाभित्र अर्थात गत वर्षको पुस महिनामा एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नपर्ने हो । तर गत वर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी र हाल लागु गरिएको निषेधाज्ञालाई देखाउँनै जडानको काम रोकिएको थियो ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा नै व्यवस्था गरेर साउन १ गतेदेखि उक्त सिष्टम सञ्चालनमा आउने उल्लेख गरेपछि प्राधिकरणले बिना तयारी आजदेखि लागु गरेको हो ।
मोबाइल नियन्त्रणका लागि आवश्यक उपकरण तथा प्राविधिकहरु बिदैशमा नै रोकिएका छन् ।
२०७३ साल बैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको छ । पहिलो चरणमा आईएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने जनाएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.