पहिलो औपचारिक कार्यक्रममा अर्थमन्त्री शर्माः पुँजी बजारमा समस्या छन्

  २०७८ साउन १ गते १४:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पहिलो औपचारिक कार्यक्रममा पुँजी बजारमा समस्या रहेको बताएका छन् । अर्थमन्त्रालय सम्हालेपछिको पहिलो पत्रकार भेटघाट कार्यक्रममा उनले पुँजी बजारमा समस्या रहेको बताएका हुन् ।

‘पुँजी बजार लगायतका समस्या छन्, सर्वसाधारण जनताको हितमा कसरी हुन्छ भनेर छलफल गर्दैछौं,’ अर्थमन्त्री शर्माले भने ।

उनले पुँजी बजारमा के कस्ता समस्या छन् भन्ने बारेमा केही खुलाएनन् । खासगरी आर्थिक पत्रकारसँग परिचयात्मक कार्यक्रम भनेर आयोजना गरिएको सो कार्यक्रममा मन्त्री शर्माले सुरुमै आफैले बोले ।

त्यसपछि उनले पत्रकारसँग परिचयात्मक कार्यक्रम सुरु गरे । परिचयात्मक कार्यक्रम सकिएपछि मन्त्री शर्माले गत आर्थिक वर्षको आर्थिक अवस्थाको बारेमा अर्थसचिव शिशिर कुमार ढुंगानालाई बोल्न समय दिए । सचिव ढुंगानाले गत आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएकोमा ११ खर्ब ८० अर्ब रुपैयाँ खर्च भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

सचिव ढुंगानाले गत आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा गत राति ३ बजेसम्ममा ९ खर्ब ३८ अर्ब रुपैयाँ संकलन भएको बताए ।

सचिव ढुंगानाले यस्तो जानकारी दिएपछि मन्त्री शर्माले आफ्ना कुराहरु राख्न थाले । सचिव ढुंगानाले दिएको संक्षिप्त जानकारीपछि मन्त्री शर्माले गत आर्थिक वर्षको देशको आर्थिक अवस्थाको बारेमा जानकारी भएको भन्दै आफू चुनौतिपूर्ण घडीमा मन्त्रालयको नेतृत्व सम्हाल्न आएको बताए ।

‘म आर्थिक र राजनीतिक रुपमा चुनौतिपूर्ण घडीमा यो जिम्मेवारी संहाल्न आइपुगेको छु, जुन कुरा तपाईंहरुलाई पनि थाहा छ, यो अहिले म अध्ययनकै क्रममा छु, केही समय अझै मलाई अध्ययन गर्न दिनुस्, यो सरकारको समग्र योजना निर्माण भइसकेपछि हामी जानकारी दिने नै छौं,’ मन्त्री शर्माले भने ।

उनले गरेको संकेत अनुसार सरकारले चाँडै नै आफ्नो समग्र योजना बनाएर सार्वजनिक गर्दैछ । संयुक्त सरकार भएकोले संयुक्त रुपमा योजना बनाएर सार्वजनिक गर्ने तयारी सरकारको देखिन्छ ।

बजेट अध्यादेश संशोधन नगर्ने

सरकारले चालु आर्थिक वर्षको लागि ल्याइएको बजेट अध्यादेश संशोधन नगरी संसदमा पेश गर्ने भएको छ । केपी ओली नेतृत्वको निवर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरी अध्यादेश मार्फत गत जेठ १५ गते बजेट सार्वजनिक गरेको थियो । अहिलेको सरकारमा सहभागी भएका दलहरुले ओली सरकारलाई अध्यादेश मार्फत बजेट नल्याउन आग्रह गरेका थिए ।

‘बजेट अध्यादेश संसदमा टेबल हुन्छ, संसदमा टेबल भएपछि सो अध्यादेशलाई के गर्ने भन्ने विषय संसदको विषय हो, त्यसैले यसमा मैले योभन्दा बढी केही भनिनँ,’ मन्त्री शर्माले भने ।

मन्त्री शर्माले सरकारको समग्र योजना निर्माण गरी सार्वजनिक गर्ने बताएका कारण नयाँ सरकार नयाँ योजना र कार्यक्रम तय गर्दैछ भन्ने स्पष्ट हुन्छ । तर, चालु आर्थिक वर्षको लागि पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश बजेट जस्ताको तस्तै प्रतिनिधिसभामा पेश गर्ने बताएर मन्त्री शर्माले सरकार कसरी अघि बढ्न चाहँदैछ भन्ने स्पष्ट संकेत नदिन खोजे ।

सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत पाइसकेको छैन । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका २३ जना सांसदले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका कारण अहिलेको सरकार बन्न सम्भव भएको हो । ती सांसदले अब देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन्छन् वा दिदैनन् भन्ने यकिन छैन ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपा एमाले सहितको राष्ट्रिय सरकार निर्माण हुने सम्भावना कम छ । तर, एमालेको ओली समुह सहितको राष्ट्रिय सरकार बन्ने सम्भावना देखिएमा सरकारले यो बजेटमा ल्याइएका कार्यक्रमहरु हटाउने सम्भावना कम रहन्छ । त्यसैले पनि अर्थमन्त्री शर्माले बजेट अध्यादेश संसदमा टेबल गर्ने र त्यसलाई के गर्ने भन्ने विषय संसदकै भएको बताएका हुन सक्छन् ।

अनिवार्य दायित्वका कारण सम्भव छैन बजेट अध्यादेश परिमार्जन

वर्तमान सरकारलाई बजेट अध्यादेश परिमार्जन गरेर प्रतिनिधिसभामा पेश गर्न अप्ठेरो छ । ओली नेतृत्वको निवर्तमान सरकारले बजेट अध्यादेश राष्ट्रियसभामा पेश गरिसकेको छ । फेरि आजैदेखि नयाँ आर्थिक वर्ष सुरु भएकोले बजेट कार्यान्वयन पनि सुरु भइसकेको छ ।

‘सरकारका अनिवार्य दायित्व हुन्छन्, कर्मचारीलाई तलब खुवाउनै पर्यो, कैदीबन्दीलाई सिधा दिनै पर्यो, पहिला नै प्रतिबद्धता जनाएका खर्चहरुको भुक्तानी गर्नै पर्यो, बजेट कार्यान्वयनमा गइसकेकोले यसमा परिमार्जन गर्ने समय कम भयो,’ अर्थसचिव ढुंगानाले कार्यक्रमपछि विकासन्युजसँगको कुराकानीमा भने ।

श्वेतपत्र जारी गर्ने

अर्थमन्त्री शर्माले अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने जानकारी दिए । ‘अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था कस्तो छ भनेर श्वेतपत्र जारी गर्दैछौं,’ मन्त्री शर्माले भने ।

उनले यसको लागि अर्थमन्त्रालयका महाशाखा प्रमुखहरुसँग छलफल गरिरहेको पनि जानकारी दिए । गत वर्षका कमि कमजोरीहरु कहाँ रहेछन् भने छलफल गरी सच्याउन पनि आफू लागिरहेको मन्त्री शर्माको भनाई छ ।

मौद्रिक नीति आउन ढिलाई

नयाँ सरकारले बजेट जस्ताको जस्तै प्रतिनिधिसभामा टेबल गर्ने बताए पनि मौद्रिक नीति आउन केही ढिलाई हुने देखिएको छ । मन्त्री शर्माले आफूले अर्थमन्त्रालयका महाशाखा प्रमुखहरुसँग छलफल गरेपछि मात्रै मौद्रिक नीति आउने जानकारी दिए ।

‘म मन्त्रालयका महाशाखा प्रमुखहरुसँग छलफल गरिरहेको छु, छलफल गरिसकेपछि मात्रै मौद्रिक नीति आउँछ,’ मन्त्री शर्माले भने ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरेको थियो । राष्ट्र बैंकले साउन ३ गते मौद्रिक नीति ल्याउने गरी तयारी गरेको भएपनि अर्थमन्त्री शर्माले छलफल गर्नुपर्ने बताएपछि ढिलाई हुने देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.