२०७८ साउन ४ गते १२:४१ विकासन्युज
काठमाडौं । आपूर्ति र वितरण प्रणालीलाई सुधार गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम लागू गरेको छ । करिब एक वर्षको तयारीपछि आईतबारबाट उक्त प्रणाली लागु भएकाे हाे । अब निगमका सम्पूर्ण कार्यहरु डिजिटलाइज भएका छन् ।
यसअघि गत बैशाख ३ गतेदेखि उक्त सिस्टम लागू गर्ने तयारी भएतापनि विभिन्न कारणले गर्दा रोकिएको थियो । ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको बताएकाे छ । ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछन् ।
निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ईआरपीको माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोडिएका छन् । ईआरपी सिस्टम लागू भएसगैँ इन्धनको बिलिङ सुरु भएको छ ।
साउन १ गतेदेखि निगमले उक्त सिस्टम लागू गर्ने तयारी गर्दा पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा काठमाडौं उपत्यकामा तेलकाे अभाव समेत देखिएको थियो । आइतबार बिहानैदेखि निजी पेट्रोल तेल नभएर बन्द हुँदा साझा, नेपाल आर्मी तथा पुलिसले सञ्चालन गरेका पम्पहरुमा उपभोक्ताको भिड बढेको थियो ।
निगमले उक्त सिष्टम लागु भएसगैँ झापाको चारआली, विराटनगर, अमलेखगन्ज, काठमाडौंको थानकोट, भैरहवा, नेपालगन्ज, सुर्खेत, धनगढीलगायतका डिपोबाट ईआरपी प्रणालीबाटै व्यवसायीबाट रकम भुक्तानी लिई तेल पठाइएको छ ।
अमलेखगन्ज र थानकोट डिपोले आइतबार कार्यालय खुल्नासाथ इआरपी प्रणालीबाट तेलको बिलिङ गरेका थिए भने भैरहवा, पोखरा, जनकपुरले साँझ मात्रै बिलिङ सुरु गर्न सकेका थिए । उक्त प्रणालीबाट निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउने छन् । एकै स्थानबाट निगरानी र निर्देशन हुने बताइएकाे छ ।
पुरानो सफ्टवेयर अन्तर्गत व्यवसायीले बिहान इन्धनको माग टिपाउने, त्यसबापतको रकम बैंकमा जम्मा गरी बैंक भौचर निगममा बुझाएपछि मात्रै इन्धन लोड गर्ने गरिएको थियो । तर, नयाँ प्रणाली अपनाउँदा आर्थिक कारोबार फोनबाटै अनलाइनमार्फत गर्न सकिनेछ । एक क्लिकमा देशभरको तथ्यांक हेर्न सकिने निगमको दाबी छ ।
इलकिङ र जीपीएस प्रणाली नहुँदा ट्यांकरबाट इन्धन चोरी हुने क्रम रोकिएको छैन । त्यसलाई नियन्त्रण गर्न समेत उक्त प्रणाली अति आवश्यक रहेको निगमले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.