वैदेशिक रोजगारीमा जाने श्रमिकले पाए जोन्सन एण्ड जोन्सनको खोप

  २०७८ साउन ४ गते १३:२०     विकासन्युज

काठमाडौं । सरकारले विदेशीने नेपाली कामदारलाई कोरोना विरुद्धको खोप दिने भएको छ । रोजगारदाता देशले कोरोना विरुद्धको खोपलाई अनिवार्य गरेपछि सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई प्राथमिकताको आधारमा खोप दिने भएको हो ।

यसअघि चिनियाँ कम्पनीले उत्पादन गरेको खोप दिने तयारी गरेको सरकारले अमेरिकन कम्पनीले उत्पादन गरेको जोन्सोन एण्ड जोन्सनको खोप दिन लागेकाे हाे । एक पटक लगाएहुने जोन्सन खोप धेरै रोजगारदाता देशले मान्यता दिएको भन्दै म्यानपावर व्यवसायी र श्रम मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई अनुरोध गरेको थियो ।

अधिकांश देशले अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको र विदेशीले कामदारले एक डोज खोप लगाएमात्र हुने भएपछि मन्त्रालयले उक्त खोप दिन अनुरोध गरेको हो ।

उक्त अनुरोध पछि सरकारले भिसा आएर रोजगारीमा जाने अन्तिम तयारी गरेका श्रमिकलाई प्राथमिकताको आधारमा जोन्सनको खोप दिने भएको हो । रोजगारीमा जानको लागि भिसा तथा अन्तिम स्वीकृतिको आधारमा गंगालाल हस्पिटल बासबारीमा आजबाट खोप दिन शुरु भएको नेपाल वैदेशिक रोजगारी व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

नेपाली कामदारका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली कामदार समेत रोजगारीमा जान पाएका छैनन् ।

चालू आर्थिक वर्षमा एकलाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै कामदार खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।

नेपालीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली कामदारलाई जान रोकेको छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्ने गरी कामदार लगिरहेको छ ।

कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कामदार लैजान बन्द गरेको कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार मात्रै आउन पाउने जनाएको छ । कुवेतले नेपालमा रोकिएका पहिला नै भिसा भएका कामदारले अनलाइनबाट नै नविकरण गर्न पाउने बाटो खोलिदिएको छ । नविकरण गरी उनीहरु साउन १७ देखि कुवेत जान पाउनेछन् । कुवेतले जोन्सनलाई अनुमोदन दिएको छ ।

यस्तै, साउदी अरब र कतार सरकारले पनि जोन्सनलाई अनुमति दिएको छ । साउदी र कतारले खोप लगाएको कामदारले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमलाई हटाएको छ ।