बसन्त याममा ४४ देशका ४५९ जनाले गरे सगरमाथा आरोहण

  २०७८ साउन १८ गते ११:३०     विकासन्युज

काठमाडौं । बसन्त यामको हिमाल आरोहण अन्तरगत ४४ देशका ४ सय ५९ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको आरोहण तथ्यांक अनुसार उक्त संख्यामा विदेशी तथा स्वदेशी आरोही तथा सहयोगी गाईडहरुले सफल आरोहण गरेका हुन ।

यस सिजनमा २७६ जना सहयोगी शेर्पा गाइडहरुले आरोहण गरेका छन् । उक्त सहयोगी सहित यस सिजनमा ७ नेपाली आरोही गरी २८२ जना नेपाली आरोहीले सफल आरोहण गरेका हुन् ।

विभागको तथ्यांक अनुसार यस सिजनको सगरमाथा आरोहण गर्न ४३ समूहका ४०८ जना आरोहीले आरोहण अनुमति लिएका थिए । जसमध्ये ७ नेपाली सहित १८२ जनाले मात्र सफल आरोहण गरेका थिए ।

यसपटक सगरमाथा आरोहण गर्ने नेपालीमा निजामती कर्मचारीतर्फका युवराज धिताल, हेलिकप्टर पाइलट सोबित गौचन, हेलिकप्टर व्यवसायी फुर्वा छिरी शेर्पा, पर्यटन व्यवसायीद्वय रामशरण उप्रेती र टासीलाक्पा शेर्पा तथा पूर्णकुमार शेर्पा र सोनाम शेर्पा (बुवा–छोरा)ले सगरमाथा आरोहण गरेका थिए ।

कुन देशका कतिले गरे आरोहण ?

नेपालीपछि सगरमाथा चुचुरो पुग्नेमा अमेरिकी नागरिकको संख्या धेरै छ । यो सिजनमा ३२ जना अमेरिकी नागरिक चुचुरो पुगेका छन् ।
तथ्यांक अनुसार दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । यो सिजनमा २४ जना चिनियाँले सगरमाथा चढेका थिए । सफल आरोहण गर्ने भारतीय नागरिकको संख्या २० रहेको छ । बेलायतबाट १३ जनाले सफल आरोहण गरेका छन् ।

यो वर्षको चर्चित आरोही दल बहराइनका १० नागरिकले सगरमाथाको चुचुरो चुमेका छन् । यो टीममा बहराइनका राजपरिवारका एक सदस्य समेत समावेश थिए । यो सिजनमा रुसबाट ६, स्वीट्जरल्याण्ड, युक्रेन, रुस र ब्राजिलका ५/५ , क्यानडा र नर्वेका ४/४ आरोहीले सफल आरोहणण् गरेका थिए । विभागको तथ्यांक अनुसार रोमानिया र जर्मनीका ३/३, अष्ट्रिया, बेलारुस, आइसल्याण्ड, जापान, नेदरल्याण्ड्स, पाकिस्तान र पोल्याण्डका २/२ आरोहीले चुचुरो चुमेका छन् ।

यस्तैगरी, उज्वेकिस्तान, तान्जानिया, ताजकिस्तान, ताइवान, स्वीडेन, दक्षिण अफ्रिका, मोरोक्को, मोल्दोभा, मेक्सिको, लक्जेम्वर्ग, लात्भिया, कीर्गिन रिपब्लिक, इटली, इजरायल, इरान, हङकङ, फिनल्याण्ड, इस्टोनिया, क्रोएसिया, अष्ट्रेलिया र अर्जेण्टिनाका १/१ आरोही चुचुरो पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

यसपटक विभागले १६ वटा हिमालका लागि नेपालसहित ७९ मुलुकका ७ सय ५४ नागरिकलाई आरोहण अनुमति दिइएको थियो ।
जसमा सगरमाथाका लागि ४०८ जना आरोही, मनास्लुमा १, आमादब्लमा २७, अन्नपूर्ण पहिलोमा ४४, बरुणचेमा १५, धौलागिरीमा ३३, ल्होत्सेमा १२५, नुप्सेमा ३८ जनाले आरोहण अनुमति दिएका थिए ।

यस सिजनमा विभागले आरोहणबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ राजश्वं संकलन गरेको छ ।