२०७८ साउन १८ गते १८:२८ विकासन्युज
काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोबार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
ब्यूरोले काठमाडौमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ के.जि. ५१२ ग्राम, चरेश २५ ग्राम, गाँजा ९ ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु २ थान र नगद ७ लाख ८८ हजार ५७५ रुपैयाँ बरामद गरेको हाे ।
बरामद भएको कोकिनको बजार मुल्य करिब ४ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबर रहेको बताइएको छ । प्रहरीले पकनाजोलमा रहेको एक होटलमा अबैध लागू औषध कोकिनको कारोवार भईरहेको सूचनाको आधारमा छापा मार्दा कारोबारमा संलग्न ४ जना ब्यक्तिहरु र कोकिन ५०० ग्राम फेला पारेको थियो ।
लामो समय देखि निगरानी गरिरहेको प्रहरीले पक्राउ परेका ४ जनाको सूचना र डेरा कोठा खानतलासी गर्दा थप ५ जना ब्यक्तिहरु र थप कोकिन र चरेश फेला परेको थियो । प्रहरी टोलीले पक्राउ परेकाहरुको बस्ने कोठा र अन्य संलग्नहरुको खोजी गर्दा काठमाण्डौ रानीबारी बस्ने बर्ष ४५ को सुरोज गुरुङबाट अबैध लागू औषध कोकिन ६८३ ग्राम र रानिबारी बस्ने बर्ष ४३ की अन्जु थापा मगरबाट अबैध लागू औषध कोकिन ३२९ ग्राम र नगद ७ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको बताएको छ ।
यसैगरि रानीबारीबाट थप तीन जना मुना तामाङ गुरुङ, रक्की आलेमगर रायल थापा मगर पक्राउ गरि अनुशन्धान गरिरहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक दक्षिण गोवा नग्गारवडा भोमा घर भएका बर्ष ३९ को सन्दिप पटेल पनि रहेको प्रहरीले बताएको छ । ब्यूरोले पक्राउ परेकाहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत म्याद गराई थप अनुसन्धान गरिरहेको बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.