पदबहाली गर्दै गुरुङले भने- संघीय लोकतन्त्रलाई संस्थागत गर्नु प्रमुख दायित्व हो

  २०७८ साउन १८ गते १८:५३     विकासन्युज

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । सोमबार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमका बीच प्रदेश प्रमुख गुरुङले पदबहाली गरेका हुन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा रहेकी सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको थियो । गण्डकीका प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ चितवनका पुराना कांग्रेस नेता हुन् । लामो समय देखि कांग्रेसको राजनीति गरेका गुरुङ पहिलो पटक लाभको पदमा पुगेका हुन् ।

पदबहाली पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रदेश प्रमुख गुरुङले संघीय लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताए । संघीय सरकारले संविधान अनुसार गण्डकी प्रदेशको अभिभावकीय जिम्मेवारी दिएर पठाएकोले आफ्नो कार्यकाल भरी लोकतान्त्रीक गणतन्त्रको पक्षमा काम गर्ने पनि प्रदेश प्रमुख गुरुङले बताए ।

यसअघि नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता पौडेललाई नियुक्त गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते मन्त्रिपरिषद्को सिफारिसमा गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन् । यस्तै सीता पौडेललाई नियुक्त गर्दा हटाइएका अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुखमा नियुक्त गरिएको छ ।