अब विद्युतीय भुक्तानी गर्दा भ्याटको १० प्रतिशत फिर्ता हुने

  २०७८ साउन २२ गते ११:५५     विकासन्युज

काठमाडौं । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा सार्वजनिक गरेको वस्तु तथा सेवा खरिद गर्दा तिरेको १० प्रतिशत भ्याट (मूल्य अभिबृद्धि कर) कार्यान्वयन हुने भएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत् सार्वजनिक गरिएको भ्याट फिर्ता बल्ल कार्यान्वयन हुने भएको छ । आन्तरिक राजश्व विभागले शुक्रबार एक सूचना जारी गर्दै कार्यान्वयनको तयारी भएको जनाएको हो ।

वस्तु तथा सेवाको खरिदमा डेविट/क्रेडिट कार्ड, क्यूआर कोड, स्क्यान टु पे लगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्दा तिरेको मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम तत्काल फिर्ता पाउने व्यवस्था कार्यान्वयनको तयारी भएको सूचनामा भनिएको छ ।

विभागले २०७६ पुस २५ देखि लागू हुनेगरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्य प्रक्रिया जारी गरेको थियो । तर लामो समयदेखि उक्त प्रक्रिया सुरु हुन सकेको थिएन ।

विभागले मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता भई विभागबाट स्वीकृति विद्युतीय बीजक जारी गर्ने करदाता उक्त प्रणाीमा आवद्ध हुने सक्ने जनाएको छ । यस्तै, डेविट, क्रेडिट कार्ड तथा क्यूआर कोड जस्ता विद्युतीय भुक्तानी उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रुपमा फिर्ता गर्नुपर्ने हुन्छ ।

सूचीकृत विद्युतीय बीजक सप्टवेयर आपूर्तिकताले सो प्रणालीसँग सामान्जस्य हुने गरी आप्नो सप्टवेयर परिमार्जन गर्नुपर्ने, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लगायत सबै बैंक तथा वित्तीय संस्थाले सो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने र सो प्रणालीमा आवद्ध बिक्रेताले आप्नो कारोबारस्थलमा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभाक्तालाई भ्यात फिर्ता हुने सुविधा रहेको जानकारी गराउनुपर्नेछ ।