२०७८ साउन २२ गते १२:०७ विकासन्युज
फाईल फोटो
काठमाडौं । खोटाङ जिल्लामा स्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिपु्रङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुल सञ्चालनमा आएको हो ।
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुल ५ करोड ६० लाख दश हजार रुपियाँ लागतमा निर्माण गरिएको हो ।
२०७६ असारमा शिलान्यास गरिएको सो पुल निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा दिपुु्रङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेटमा निर्माण गरिएको हो । सो पुल निर्माणको लागि स्थानीय सडक पुल सहयोग कार्यक्रम (एलआरबीपी) ले प्राविधिक सहयोग गरेको थियो ।
गत जेठ १७ गते सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सूर्य एन्ड सन्स प्रालिले निर्माणको जिम्मा लिएको ४० मिटर लामो उक्त पुल तोकिएको समयअगावै निर्माण भएको हो ।
तराईका जिल्ला जोड्ने सडक खण्डअन्तर्गत दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा योसँगै तीनवटा मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ ।
पक्की पुल सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.