२०७८ साउन २२ गते १६:५२ विकासन्युज
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
शुक्रबार सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो ।
दुई दिनसम्म बसेको समितिको बैठकले देशमा बढेको महँगी र अन्य क्षेत्रका कामदारको पारिश्रमिकमा वृद्धि हुँदा पनि श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक विसं २०७५ देखि पुनरवलोकन नभएका स्थितिमा कार्यदल गठन गरिएको समितिका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।
कार्यदलमा समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगर तथा नेपाल पत्रकार महासङ्घ र सञ्चार उद्यमी एशोसिएसनका तर्फबाट एक÷एक प्रतिनिधि सदस्य रहनेछन ।
एक महिनाको अवधि तोकेर गठन गरिएको कार्यदलले श्रमजीवी पत्रकार ऐन २०५१ को पूर्ण कार्यान्वयन हुन नसक्नाका कारणको विश्लेषणसहितको प्रतिवेदन समितिलाई पेश गर्नेछ ।
बैठकले श्रमजीवी पत्रकारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन सरकारसमक्ष माग गर्दै चालू आर्थिक वर्षमा कोरोना सङ्क्रमित श्रमजीवी पत्रकारलाई उपचार खर्च उपलब्ध गराउन, कोरोना सङ्क्रमणका कारण विस्थापित र रोजगारी गुमाएका श्रमजीवी पत्रकारलाई राहतस्वरुप लेखनवृत्ति उपलब्ध गराउन तथा कल्याणकारी कोष कार्यान्वयन तत्काल गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.